arin enterprises

न्हूघःस्थित कुमार कात्र्तिकेको महास्नान सम्पन्न

SamacharDesk – Ram Dangol | २०७९ जेठ १९, बिहिबार

हरेक वर्ष झैं यस वर्ष पनि काठमाडौंको न्हूघःस्थित कुमार कात्र्तिकेको महास्नान (न्हवं) विहीबार बेलुका सम्पन्न भएको छ ।

महादेव र पार्वतीको ज्येष्ठ सुपुत्र कुमार कात्र्तिकेलाई नेपालभाषाबाट सिद्धि द्यः पनि भन्ने गरिन्छ । नेवार समुदायको महत्वपूर्ण चाड मध्ये एक सिथि नखःको चार दिन अघि आजको दिन कुमार कात्तिकेको महास्नान गर्ने चलन रहिआएको छ ।

सो अवसरमा पुजारी, पान्जुहरुबाट पुजाआजा गरी परम्परागत बाजागाजासहित देवता घरबाट कुमार मण्डपसम्म बोकेर ल्याएको थियो । तत्पश्चात देवतालाई मण्डपमा राखी पूजाआजा गरी सुरुमा दूघबाट र त्यसपछि जलबाट महास्नान गरियो । 

शनिबार सिथि नखः पर्वको एक दिन अघि कुमार कात्तिकेको पाटीमा राखी कर्म पूजा, होम गरी शुद्धिकरण गरिन्छ र भोलिपल्ट सर्वसाधारणका लागि दर्शन तथा पूजाआजा गराइन्छ ।

यस दिन नेवारहरुको चाड सिथि नखः पनि पर्ने भएकोले विहान कुमार कात्र्तिकेको पूजाआजा गरी घरघरमा भ्वज पनि खाइन्छ । 

देवताहरुको सेनापतिका रुपमा पुजिने कुमारको पूजाआजा गरेमा शत्रुको नाश हुने घर, परिवारको रक्षा हुने र सुखसमृद्धि बढ्ने र घरमा दुष्टात्माहरुले प्रवेश गर्न नपाउने किंवदन्ती रहेको छ । 

Categorized in संस्कृति