लमपा १९ वडा सद्भाव मेला भोलिदेखि
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० पौष १२, बिहिबार

ललितपुर महानगरपालिका (लमपा) वडा नं १९ सद्भाव मेला २०८० भोलि शुक्रबारबाट सुरु हुने भएको छ । तीन दिने सद्भाव मेला आउँदो पुस १३ गते शुक्रबारदेखि १५ गते आइतबारसम्म हुन लागेको हो ।
लमपा १९ वडाको पुर्णचण्डी, अग्निशाला, तलाछेँ, इतापुखू, इखालखु, तिछुँगल्ली, इकुबाःननि, राजश्री महाविहार, इवाःननि, मच्छिन्द्र बहाल, टंगल, थटी र इतिमा मेला हुनेछ ।
स्थानीय समाजमा सद्भावको सन्देश फैलाउनु नै मेलाको मुख्य उद्देश्य रहेको लमपा १९ का वडाध्यक्ष राजेन्द्र महर्जनले समाचारडेस्कलाई बताए ।
‘यो मेलाको उद्देश्य भन्नु नै सद्भाव र मैत्रीपूर्ण भावनाको प्रवाह गराउनु नै हो । स्थानीय संस्कृतिको प्रचार प्रसार, पर्यटन प्रवर्ध्दन र १९ वडामा रहेको स्थानीय व्यापार व्यवसायको उत्थान गर्न यो मेला गर्न लागेको हो’ वडाध्यक्ष महर्जनले भने ।
‘जस्तै ललितपुर १९ वडामा चक्रबहिल र तिछुँ गल्लीमा तामा तथा धलौटको सामग्रीको र तिछुँ गल्लीमा काठको फ्रेम लगायतका सामान बनाउने गरिन्छ, जुन उनीहरुको पुर्खौली पेशा हो यसलाई वडास्तरबाटै उत्थान गरिएमा संस्कृति पनि जोगिनेछ’ मर्हजनले थपे ।
मेलाको क्रममा साँस्कृतिक झाँकी, फुड स्टल, हस्तकला प्रदर्शनी, फेस पेन्टिंग, फोटो प्रदर्शनी र लाइभ व्याण्ड पर्फमेन्स जस्ता कार्यक्रमहरु हुने बताइएको छ ।
त्यस्तै वडाका विभिन्न महिला समूह तथा मंका खलःवाट उत्पादन भएको सामग्रीहरुको पनि प्रदर्शनी पनि रहनेछ ।
