ललितपुरको पुल्चोक क्षेत्रमा ५ जनाभन्दा बढि भेला हुन नपाइने
SamacharDesk – बिकाश | २०७८ बैशाख ३१, शुक्रबार

ललितपुरको पुल्चोक क्षेत्र आसपास भोलिबाट ५ दिनका लागि ५ जनाभन्दा बढि मानिसहरु भेला हुन नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले सूचना जारी गर्दै भोलि बिहान ६ बजेबाट ५ गते बेलुकी १० बजेसम्मका लागि पुल्चोक क्षेत्र आसपास ५ जनाभन्दा बढि मानिस भेला हुन नपाउने गरी निषेधित क्षेत्र घोषणा गरिएको हो ।
कार्यालयले पूर्वबाट मदन स्मारक स्कूल अगाडीको चोक, पश्चिमबाट रातो मच्छिन्द्रनाथको रथ रहेको पश्चिमतर्फ बारुण यन्त्र रहेको स्थानमा पाँच जनाभन्दा बढि भेला हुन नपाइने जनाएको छ ।
त्यस्तै दक्षिणतर्फ सेन्ट जेभियर्स स्कुल अगाडीको चोक अल्का मोड, उत्तरतर्फ लबिम मल पश्चिमपट्टीको सडकमा निषेधित क्षेत्र घोषणा गरिएको छ ।
त्यस्तै मीननाथको रथ रहेको आसपासको क्षेत्रमा पूर्वतर्फ गणेशस्थान मन्दिर, पश्चिममा टःबहाल चोक, दक्षिणतर्फ इतिचोक र उत्तरतर्फ टंगल र चक्रबहिल गल्लीमा पनि निषेधित क्षेत्र घोषणा गरिएको छ ।
भोलि शनिबार पुल्चोकमा सांकेतिक रुपमा रथ तानेर यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न गरिन लागिएको छ । आउँदो ५ गते रातो मच्छिन्द्रनाथलाई बुंगमतिमा प्रस्थान गराउने कार्यक्रम रहेको छ ।
