लामिछाने २० लाख धरौटीमा रिहा
SamacharDesk | २०७९ पौष २९, शुक्रबार

करिब ३ महिनाअघि नाबालिक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सन्दिप लामिछाने आज रिहा हुँदैछ ।
उच्च अदालत पाटनले हिजो लामिछानेलाई २० लाख धरौटी लिएर सशर्त छाड्न आदेश दिएको हो । लामिछानेका परिवारबाट धरौटी रकम जम्मा गरेपश्चात शुक्रबार २ बजेभित्र रिहा हुने परिवार स्रोतले जानकारी दिएका छन् ।
काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध दिएको पुनरावलोकनको निवेदनमाथि उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा थुनामुक्त गरेर मुद्दाको टुंगो लगाउन आदेश दिएको हो ।
न्यायाधीश धु्रवराज नन्द र रमेश ढकालको संयुक्त इजालसले लामिछानेलाई सशर्त रिहा गर्न आदेश गरेको हो ।
पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावलोकन निवेदन दिएका थिए ।
यसअघि सन्दीपका कानुन व्यवसायीले पीडित भनिएकी किशोरी बालिग रहेको दाबी गर्दै जन्मदर्तालगायतका कागजातसमेत पेस गरेका थिए ।
सन्दीप पक्षले उक्त कागजात पेस गरेपछि अदालतले अस्पतालबाट किशोरीको बर्थ सर्टिफिकेट झिकाउने आदेश दिएको थियो ।
अस्पतालबाट जन्मदर्ता प्रमाणपत्रसमेत उपलब्ध गराइएको थियो ।
Categorized in स्पाेर्ट्स