arin enterprises

रविलाई ६५ लाख धरौटीमा छाड्न अदालतको आदेश

SamacharDesk | २०८१ पौष २५, बिहिबार

कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका सातै जना प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश भएको छ। जिल्ला अदालतका न्यायाधीश निजित राइको ईजलाशले आज लामिछानेसहित सातै जनाबाट धरौटी लिएर रिहा गर्न आदेश दिएको हो ।

यस्तै अदालतले पूर्व डीआइजी छविलाल जोशीसंग ८८ लाख रुपैयाँ धरौटी मागेको छ । यस्तै लिला पछाईसंग ३७ लाख, पूर्व प्रहरी रामबहादुर खनालसंग १५ लाख, पूर्व सांसद मीना गुरुङसंग ५ लाख, मीनाका बुबा कृष्णबहादुर गुरुङसंग एक लाख र आरती गुरुङसंग ५ लाख धरौटी माग गरिएको छ ।

पुस ७ गते जिल्ला अदालत कास्कीमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । लामिछानेसहितले सूर्यदर्शनको बचत गोरखा मिडियामा लगेर अपचलन गरेको अभियोग छ।

लामिछाने गोरखा मिडियाको पूर्वप्रबन्ध निर्देशक र सेयर सदस्य हुनुहुन्छ। अहिले कास्की प्रहरीको हिरासतमा गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी पूर्व प्रहरी नायव महानिरीक्षकसमेत हुनुहुन्छ। 

अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि रवि लामिछाने र छविलाल जोशी भने तत्कालै रिहा नहुने भएका छन् ।

अन्य चार जिल्ला अदालतहरु समेत उनीहरु विरुद्धको मुद्धा विचाराधीन रहेको भन्दै सरकारी पक्षले अभियोग पत्रमै उनीहरुलाई तत्काल छुट्ने अवस्थामा प्रहरीलाई नै जिम्मा दिन माग गरेको छ ।

अन्य पाँच जना प्रतिवादीहरु भने धरौटी बुझाएर छुट्ने छन् । रवि र छविलाई भने अब काठमाडौं ल्याएर काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्धा अघि बढाइने प्रहरी स्रोतले बताएको छ ।

Categorized in राष्ट्रिय