म्याग्दीमा पहिरोले पुरिएर ५ जनाको मृत्यु
SamacharDesk | २०७९ श्रावण १७, मंगलबार

आज विहान म्याग्दी म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको छ ।
आज बिहान बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि दुई जनाको शव भेटिएको थियो भने तीन जना बेपत्ता भएका थिए । हराइरहेका तीन जनाको शव पनि मृत अवस्थामा भेटिएको छ ।
मृतक सबै एकै परिवारका भएको वडा सदस्य भक्तबहादुर पुनले जानकारी दिनुभयो । खोज तथा उद्धारमा बिहानैदेखि खटिएपनि अविरल वर्षा र निरन्तरको पहिरोले उद्धारमा समस्या भएको थियो ।
पहिरोमा पुरिएको अवस्थामा विहान नविन र रुजन विकको शव निकालिएको थियो भने बेपत्ता घामबहादुर विक, राजु विक र रोजी विकको शव निकालेर कानुनी प्रक्रियाको काम भइरहेको प्रहरीले जनाएको छ ।
बेपत्ता भएकाहरुको खोजीका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोलीसहित स्थानीय घटनास्थलमा पुगेका थिए । पहिरो खसेको आवाज आएपछि भाग्दाभाग्दै गोठे र गोरी विक घाइते भएका थिए ।
पहिरोस्थलबाटै गोरीको उद्धार गरिएको थियो भने गोठे नजिकै घाइते अवस्थामा भेटिएका थिए ।
Categorized in समाज