arin enterprises

दक्षिणकाली मन्दिर पूर्वाधार विकास कार्यक्रमको शिलान्यास

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ फाल्गुण ४, बुधबार

काठमाडौँको दक्षिणकाली मन्दिर पूर्वाधार विकास कार्यक्रमको शिलान्यास भएको छ ।

नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरको आर्थिक सहयोगमा निर्माण हुने कलात्मक प्रवेश द्वारको मंगलबार महानगरका मेयर विद्यासुन्दर शाक्य र दक्षिणकालीका मेयर मोहन बस्नेतले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।

नगर—नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरबाट प्राप्त अनुदानबाट नगरपालिकाले यो परियोजना अगाडि बढाएको हो ।

यो बर्ष सञ्चालन हुने परियोजनाको लागत १ करोड २४ लाख रुपैयाँ रहेको थियो । खुल्ला प्रतिस्पर्धाबाट ठेक्केदारले ८६ लाख ३३ हजार रुपैयाँमा निर्माण कबोल गरेको छ ।

शिलान्यासपछि बोल्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले, जनताले उपभोग गर्ने वा जनताले लाभ पाउने कुरामा अस्वस्थ्य प्रतिस्पर्धा गर्न नहुने बताउनुभयो ।

‘हामी उपत्यकाको एकीकृत विकास गर्न चाहन्छौँ । यसका लागि नगरहरुकाविचमा सहकार्य आवश्यक थियो । त्यो आवश्यकता पूरा गर्न काठमाडौँ महानगरले नेतृत्व गरिरहेको छ’ मेयर शाक्यले भन्नुभयो ।

त्यस क्रममा दक्षिणकाली नगरका मेयर मोहन बस्नेतले, काठमाडौँ महानगरले उदार भएर छिमेकी नगरको भौतिक समृद्धिमा सहयोग गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, दक्षिणकाली नगरकी उपमेयर बसन्ती तामाङ् (डंगोल) ले नगर नगरबीच सहकार्य गर्दै विकास र समृद्धितर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नगर साझेदारी कार्यक्रमअन्तर्गत प्राचीन दक्षिणकाली क्षेत्रमा पहिलो चरणको काम सकिएर दोस्रो चरणको काम थालनी भएको छ ।

Categorized in स्थानीय