arin enterprises

निर्दलीय प्रधानमन्त्रीको विपक्षमा रहेको मेयर शाक्यको भनाई

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ श्रावण ११, सोमबार

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वर्तमान समयमा मुलुकको नेतृत्व निर्दलीय प्रधानमन्त्रीले गरिरहेको बताएका छन् ।

काठमाडौँ महानगरपालिका वडा–२१ को वडा कार्यालय भवन शिलान्यास कार्यक्रममा बोल्दै महानगर प्रमुख शाक्यले आफुहरु ०४६ साल अघि जस्तो दलको ह्वीप नलाग्ने निर्दलीय प्रधानमन्त्रीको विपक्षमा रहेको बताए ।

अहिले मुलुकमा दलको प्रधानमन्त्री नभई अदालतको परमादेशबाट बनेको निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहेको ठोकुवा गरे ।

‘दलको ह्वीप नलाग्ने प्रधानमन्त्री भनेको निर्दलीय प्रधानमन्त्री हो,’ शाक्यले भने, ‘म संविधान निर्माताहरुलाई म प्रश्न गर्न चाहन्छु, के संविधान लेख्दा निर्दलीय प्रधानमन्त्रीको परिकल्पना गरिएको थियो ? कि संविधानको अपव्याख्या गरेर निर्दलीय प्रधानमन्त्री बनाइएको हो ?’

हिजो जुन व्यवस्थाको विरुद्धमा लागियो अहिले त्यही व्यवस्थातर्फ धकेल्ने काम भइरहेको शाक्यले दावी गरे । दलीय प्रधानमन्त्री बनाउनुको विकल्प नभएको उहाँको भनाई छ ।

सो अवसरमा शाक्यले पार्टी एउटा घर भएको भन्दै घरका सबै सदस्यहरु घरको नीति अनुसार चल्नुपर्नेमा जोड दिए ।

‘म निर्वाचनमा सूर्य चिन्ह लिएर निर्वाचित भएँ, अब म रुख चिन्हमा भोट हाल्छु भन्दै हिँड्न मिल्छ ? मेरो नैतिकताले दिन्छ ?’ शाक्यले भन्नुभयो ।

नेकपा एमालेबाट निर्वाचित केही सासंदहरुले संविधान बचाउन शेरबहादुर देउवाको पक्षमा मतदान गरेको भन्नु हाँस्यास्पद भएको शाक्यको भनाई थियो ।

Categorized in राजनीति