सबै वडाका कार्यालय भवन परम्परागत शैलीमा निर्माण गर्छौँ – मेयर शाक्य
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ श्रावण ११, सोमबार

काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले सबै वडाको कार्यालय भवन बनाइसक्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
वडा–२१ को वडा भवनको आज शिलान्यासको अवसरमा मेयर शाक्यले आफु निर्वाचित भएर आएपछिको पहिलो बैठकमै काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने घोषणा गरेको स्मरण गर्नुभयो ।
केही दिनमै वडा १२ को कार्यालय भवनको पनि शिलान्यास हुने मेयर शाक्यले जानकारी दिनुभयो ।
‘ हामीले निर्वाचनका बेला प्रतिवद्धता व्यक्त गरेका धेरै काम सम्पन्न गरेका छौं, मुद्दा परेकाले महानगरपालिकाको केन्द्रीय कार्यालय भवन अहिलेसम्म निर्माण गर्न सकेका छैनौँ’ उहाँले भन्नुभयो ।
आफूले जिम्मेवारी सम्हाल्नु अघिसम्म अधिकांश वडा भवनबाट सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न समस्या हुने खालका रहेको भन्दै अब सबै वडालाई समयानुकुल विकास गर्दै लैजाने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
‘सबै वडा भवन मौलिकता झल्किने र बाहिरी स्वरुप एकै खालको हुने गरी निर्माण गरिरहेका छौँ । भवन बाहिरबाट परम्परागत नेपाली शैलीको र भित्र सेवाग्राहीको सेवालाई ध्यानमा राखेर निर्माण गरिरहेका छौँ, यो सबै काम हाम्रै कार्यकाल भित्र सम्पन्न गर्छौँ’ शाक्यले भन्नुभयो ।
महानगरपालिकाले दिएको जानकारी अनुसार वडा–९ र १८ को भवन उद्घाटन भै सेवा प्रवाह सुरु भैसकेको छ । वडा–३, ४ र २६ को पनि उद्घाटन भैसकेको छ र वडा– १४ को गृह प्रवेश भैसकेको छ ।
यसैगरी काठमाडौँ महानगरपालिकाका इन्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार वडा–२, ६, १२, २०, २२, २९, निर्माण प्रक्रियामा छन् भने वडा–१२, ३१, १६ को पनि प्रक्रिया अघि बढेका छ । अन्य वडा भवनको स्तरोन्नती गर्नेलगायतका प्रक्रिया अघि बढेका छन् ।
आज शिलान्यास गरिएको वडा—२१ को भवन ६ तलाको भूकम्प प्रतिरोधी, अपाङ्ग र जेष्ठ नागरिकमैत्री हुने जानकारी इन्जिनियर श्रेष्ठले दिनुभयो । भवनको जमिन तला वडा कार्यालयका लागि प्रयोग हुनेछ भने पहिलो तला गुठीका लागि प्रयोग हुने बताइएको छ ।
बाँकी अरु तलामा पनि वडा कार्यालयकै रुपमा प्रयोग हुनेछ । भवनको पाँचौ तलामा ५० जना क्षमताको हल रहने छ ।
‘भवनमा लिफ्टको समेत व्यवस्था गरेका छौँ,’ श्रेष्ठले भन्नुभयो, ‘भवन निर्माणको कार्यादेश २ करोड ६ लाख ९० हजार रहेको छ । निर्माणकार्य २०७८ चैत २० मा सम्पन्न गर्नुपर्ने छ ।’
कार्यक्रममा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रदेश सांसद डाक्टर अजयक्रान्ति शाक्यलगायतको उपस्थिति रहेको थियो ।
Categorized in स्थानीय