केन्द्रले नै प्रदेशलाई कमजोर बनाएको नेता श्रेष्ठको आरोप
SamacharDesk – बिराज | २०८० बैशाख ४, सोमबार

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता साथै पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले केन्द्रीय सरकारले नै प्रदेशलाई कमजोर बनाएको दाबी गरेका छन् ।
जसपा नेपाल नेवाः राष्ट्रिय समितिले सोमबार काठमाडौंमा आयोजना गरेको नव बर्ष २०८० को शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै पूर्वमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
केन्द्र सरकारले जिल्लासम्मको नियन्त्रण सबै आफैंमा राखेर प्रदेश सरकारलाई भूमिकाविहिन बनाएर कमजोर बनाइएको उनको भनाई हो ।
‘अहिलेको परिस्थितीमा जनताले प्रदेशको आवश्यकता छैन भन्नु स्वाभाविक हो र प्रदेशको महत्त्व जनतामा बुझाउन सकेमात्र संघीयता मजबुद बन्नेछ । प्रदेशलाई अधिकार सम्पन्न बनाएर काम गर्न दिए पो प्रदेशको औचित्य देखिन्छ’ नेता श्रेष्ठले भने ।
वर्तमान सरकारको साझा न्यूतनत कार्यक्रममा प्रदेशलाई अर्थपूर्ण बनाउने गरी कार्यक्रम ल्याइएको जानकारी पनि श्रेष्ठले दिए ।
वर्तमान सरकारको साझा न्यूतनत कार्यक्रमका प्रमुख मस्यौदाकार समेत रहेका नेता श्रेष्ठले तीनै तहका सरकारको कार्यक्षेत्र स्पष्ट हुने गरी कार्यक्रम ल्याइएको बताए ।
‘एउटै पालिकाभित्रको विकास निर्माणको काम पालिकाले हेर्ने र दुई व दुई भन्दा बढि पालिका भए प्रदेशले हेर्ने गरी कार्यक्रम ल्याइएको छ । संघ वा केन्द्रले भने राष्ट्रिय गौरव, रणनीतिक महत्त्व र सामाजिक, आर्थिक रुपान्तरणका कार्यक्रमहरु मात्र हेर्नेछ’ श्रेष्ठले जानकारी दिए ।
कार्यक्रम लागू भएमा जनताकी बीच प्रदेशको औचित्य स्पष्ट हुँदै जाने दावी श्रेष्ठले गरे ।
नेवाः राष्ट्रिय समितिका अध्यक्ष श्यामकृष्ण प्रजापतिले निर्वाचन पछि शिथिल रहेको राजनीतिक माहौललाई सक्रियता दिन कार्यक्रमको आयोजना गरेको बताए ।
राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्ला समितिका अध्यक्षसमेत रहेका प्रजापतिले सरकारको साझा न्यूनतम कार्यक्रममा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको साथै स्वबासीको मुद्दासमेत सम्वोधन गरिदिएकोमा नेता श्रेष्ठलाई धन्यवाद दिए ।
Categorized in राजनीति