arin enterprises

महानगरको समृद्धिका लागि क्षमताको उपयोग गरौं–मेयर शाक्य

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ श्रावण ७, बुधबार

काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले विभागीय र महाशाखा प्रमुखहरुलाई प्रभावकारी र परिणाममुखी काम गर्न आग्रह गर्नुभएको छ । 

आर्थिक बर्ष २०७६/०७७ को बार्षिक समीक्षा कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले यस्तो आग्रह गर्नुभएको हो । 

‘बार्षिक बजेट, नीति तथा कार्यक्रममा उल्लेख भएका र आफूसँग सम्बन्धित काम समयमा सम्पादन गर्नु तपाईहरुको दायित्व हो,’ उहाँले भन्नुभयो, ‘महानगरबासी, कर्मचारी र जनप्रतिनिधिबीच आत्मीय सम्बन्ध बिकास गर्दै र समन्वयलाई प्रभावकारी बनाउँदै परिणाममापन हुने गरी काम गरौं ।’ 

काठमाडौँ महानगरपालिकाका कर्मचारीहरुसँग अन्य स्थानीय तह सञ्चालनका बिषयमा विभिन्न स्थानीय तहमा गएर प्रशिक्षण चलाउन सक्ने क्षमता भएको भन्दै कामपा प्रमुख शाक्यले त्यो क्षमता आफ्नै कार्यालयमा पनि देखाउन सुझाव दिनुभयो । 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले वृत्ति बिकास, पदोन्नतिजस्ता बिषयमा निराशा देखाएर कर्मचारीले बजेट, नीति तथा कार्यक्रमको लक्ष्य अधुरो बनाउने कुराले सकारात्मक परिणाम नदिने बताउनुभयो । 

उहाँले कोभिड–१९ का कारण केही महिना काममा अवरोध भएको भन्दै त्यसअघिका परिणाम के थिए ? कार्यक्रम सञ्चालन गर्दा, कसले कति लाभ पाए ? त्यसको पनि लेखाजोखा हुनुपर्नेमा जोड दिनुभयो ।  

उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले आन्तरिक सूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै लैजानु पर्नेमा जोड दिनुभयो । 

त्यसैगरी सहसचिव राजेश्वर ज्ञवालीले सामुहिक हितका काम गर्न नेतृत्वको निर्णय गर्ने क्षमता आवश्यक पर्नेमा जोड दिनुभयो ।

बिभाग, आयोग, महाशाखा, आयोजना, इकाई र सचिवालयको प्रतिनिधित्व गर्दै २७ जनाले प्रस्तुतिकरण गर्नुभएको थियो । 

समिक्षा कार्यक्रममा प्रस्तुतिकरण गर्दै स्वीकृत नीति, योजना तथा कार्यक्रम कार्यान्वयनमा प्राबिधिक क्षेत्रका जनशक्ति कम हुनु, महामारी आउनुजस्ता कारण देखाइएको थियो । 

महालेखा परीक्षकको कार्यालयले देखाएको वित्तीय अनुशासन कायम गराउन थप तत्परता देखाउनु पर्ने जस्ता विषय पनि समिक्षामा उठेका थिए ।   

महानगरपालिकाले सबै बिभागको प्रगति सम्बन्धि तथ्य संकलन गरेर प्रतिवेदन तयार गर्न निर्देशक दिपक अधिकारी र उपनिर्देशक प्रल्हाद घिमिरेलाई जिम्मेवारी दिइएको छ । 

सामाजिक बिकास बिभाग, प्रशासन बिभाग, सम्पदा तथा पर्यटन बिभाग, सहरी पूर्वाधार बिकास बिभाग, बित्त बिभाग,  सहरी शुशासन बिभाग, वातावरण व्यवस्थापन बिभाग,  सूचना प्रबिधि बिभाग, भवन इजाजत बिभाग, बिपद् व्यवस्थापन बिभाग, सहकारी बिभाग, शिक्षा बिभाग, कृषि बिभागले प्रगति समिक्षा प्रस्तुत गरेका थिए ।

त्यसैगरी कानून महाशाखा, अन्तरराष्ट्रिय सम्बन्ध र मेयरको सचिवालय , सार्वजनिक निजी साझेदारी इकाइ, आन्तरिक लेखा परीक्षण शाखा, नगर प्रहरी महाशाखा, मनोहरा जग्गा बिकास आयोजना, चमती नयाँबजार जग्गा बिकास आयोजना, खरिद इकाइ, हनुमान ढोका दरवार संरक्षण कार्यक्रम, पशु महाशा, सहरी योजना आयोग,  जनस्वास्थ्य महाशाखाको तर्फबाट वार्षिक प्रगति समिक्षा प्रस्तुत भएको थियो । 

त्यसैगरी भैरव बोगटीले संघ/प्रदेश संसद बिकास कोष र दीपक अधिकारी-महालेखाबाट प्राप्त प्रतिवेदनको समिक्षा गर्नुभएको थियो ।

Categorized in स्थानीय