लिभरपुलद्वारा म्यानचेस्टर युनाईटेड पराजित
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख ३१, शुक्रबार

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले म्यानचेस्टर युनाईटेडलाई पराजित गरेको छ ।
बिहीबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टरलाई ४–२ गोलले पराजित गरेको हो ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलेको खेलको दशौँ मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।
३४ औं मिनेटमा डिएगो जोटाले गोल फर्काउँदै लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याए । पहिलो हाफको इन्जुरी समयमा रोबर्टो फिर्मिन्होले गोल गरेपछि लिभरपुललाई २–१ गोलको अग्रता दिलाए ।
खेलको ४७ औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो र लिभरपुलको लागि तेस्रो गोल गरे ।
६८ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडलाई ३–२ को अवस्थामा ल्याए ।
मोहमद सलाहले ९० औं मिनेटमा गोल गर्दै लिभरपुललाई ४–२ को जित दिलाए ।
यो जितसँगै लिभरपुल ३५ खेलमा ६० अंक जोडेर पाँचौं स्थानमा रहेको छ । युनाईटेड ३६ खेलमा ७० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स