arin enterprises

ललितपुर– १६ वडामा वर्षभरि योग सञ्चालन हुँदै

SamacharDesk – बिराज | २०७९ आश्विन ९, आइतबार

ललितपुर महानगरपालिका– १६ वडा कार्यालयले एक वर्षसम्म हरेक दिन योग सञ्चालन गर्ने भएको छ ।

वडाले चालू आर्थिक वर्षको वार्षिक कार्यक्रममा समावेशी गरी यसलाई वर्षभरि निरन्तरता दिन लागिएको हो । योग सञ्चालनको लागि वडाले चालू आर्थिक वर्षमा पाँच लाख रुपैयाँ बजेट विनियोजित गरेको वडाअध्यक्ष निर्मलरत्न शाक्यले जानकारी दिनुभयो ।

दैनिक योग सञ्चालनको लागि वडाअध्यक्ष शाक्यको अध्यक्षतामा १६ वडा योग साधना केन्द्र गठन गरिएको छ । केन्द्रलाई पतञ्जली योग पीठ नेपालको वाग्मती प्रदेशको शाखाको रुपमा आबद्ध गरिएको छ ।

यस अघि, नकबहील योग साधना केन्द्रको व्यवस्थापनमा वडाले दुई महिना अघि योग सञ्चालन गरेको थियो । दैनिक योग गर्दै आएका वडाबासीहरुको सल्लाह र सुझावमा वडाले समिति गठन गरी योग कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।

दैनिक रुपमा योगको अभ्यास गर्दै आएका वडाबासीको एक समूहको प्रस्तावमा वडाले यस अघि गत श्रावण ३ देखि ७ गतेसम्म योग शिविर सञ्चालन गरेको थियो ।

‘शिविरपछि योगको महत्वलाई बुझ्दै वडाले दैनिक रुपमा योग सञ्चालन गर्ने निर्णय गर्‍यो । यस कार्यबाट योग गर्नेहरुको निकै उत्साह मिलेको छ’ दैनिक योग कार्यक्रममा सहभागी हुँदै आउनुभएका समितिका सल्लाहकार समेत रहेकी उषा बज्राचार्यले भन्नुभयो ।

सो अवसरमा वडाका सल्लाहकार धर्मेन्द्र शाक्यले वर्षभरि योग सञ्चालन अनुभव बटुलेर योग सम्बन्धी अस्पताल नै खोल्नुपर्नेमा जोड दिनुभयो ।

Categorized in स्थानीय