२८ वर्षपछि जमरासहित मच्छिन्द्रनाथको महास्नान
SamacharDesk – बिराज | २०७९ चैत्र २५, शनिबार

करीब २८ वर्षपछि रातो मच्छिन्द्रनाथलाई जमरासहितको जलबाट महास्नान गराइएको छ ।
करीब २८ वर्ष रोकिएको परम्परालाई निरन्तरता दिँदै यस वर्ष रातो मच्छिन्द्रनाथलाई जमरा राखिएको पवित्र जलले महास्नान गराइएको हो ।
विगतमा रातो मच्छिन्द्रनाथको महास्नान गराइने जलमा तलेजुको जमरा राख्ने गरिन्थ्यो । तलेजुमा मालीले काम गर्न छोडेदेखि यो परम्परा बन्द भएको तलेजुका पूजारी निरण ज्वालानन्द राजोपाध्यायले बताए ।
‘मच्छिन्द्रनाथको महास्नानको लागि तःबहालका पान्जुबाट खटाइएको व्यक्तिले मालीलाई सम्पर्क गरि जमरा लग्ने चलन थियो । २०५१/५२ सालतिर मालीले काम छोडेपछि यो प्रथा निरन्तर हुन सकेन । यस वर्ष हामीले नै जमरा लगिदियौं र परम्पराले निरन्तरता पायो’ पूजारी राजोपाध्यायले बताए ।
यस वर्ष मच्छिन्द्रनाथको महास्नानका लागि तलेजुबाट पूजारी रक्षण राजोपाध्यायले जमरा लगिदिएका थिए ।
पाटन मंगलबजारस्थित तलेजुमा चैत्र प्रतिपदाका दिन जमराको लागि जौ छर्ने गरिन्छ भने सोही जमरा चैत्र दशैंका दि तलेजुलाई चढाइन्छ । तलेजु भवानीलाई चढाइएको सोही जमरा मच्छिन्द्रनाथको महास्नान गरिने जलमा राख्ने गरिन्छ ।
महास्नानको लागि गंगातीर्थ, विष्णुमति तीर्थ, मनोहरा तीर्थ, गोसाईँकुण्ड र टोखास्थित सपनतीर्थबाट जल ल्याउने गरिन्छ ।
Categorized in संस्कृति