मच्छिन्द्रनाथको रथ आज गाःबहाल पुग्यो
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० बैशाख १२, मंगलबार

नेपालकै लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथ जात्राको क्रममा आज रथ गाःबहाल पुगेको छ ।
रथयात्राको पहिलो दिनमै गाःबहाल पुग्नुपर्ने रथ हिजो रथ श्रीबहालमा रोकिएपछि आज मात्र गाःबहाल पुगेको हो ।
हिजो रथ धेरै नै ढल्किन थालेर तान्ने स्थिती नभएपछि श्रीबहालमा रोकिएको थियो भने आज रथको माथिल्लो भाग जंघःमा तान कसेर सिधा बनाउँदै गाःबहाल पुर्याइएको हो ।
आज बिहानै डंगोल थरका ञवाःहरुले रथमा तान कस्दै रथको माथिल्लो जंघःलाई तानेर सिधा बनाएका थिए । अलि सिधा बनाएपछि रथ तानेर गाःबहाल पुर्याइएको हो ।
योसँगै आज गाःबहाःयाः सम्पन्न भएको हो । गाःबहाल पुगेपछि स्थानीय भाषामा यसलाई ‘गाःबहाः याः न्यात’ (गाःबहालको जात्रा सम्पन्न भयो) भनिन्छ र गाःबहाःयाः पछि स्थानीय बासिन्दाहरु छ्वयलाभू भन्दै छ्वयलासँग भोज खाने गर्छन् भने भोलिपल्ट भुज्याः भनेर भात खाने गरिन्छ । तर कारणवश जात्रा हुन नसकेमा छ्वयला प्वाः गन भनिन्छ ।
यसै अनुसार हिजो गाःबहालका स्थानीय बासिन्दाको छ्वयलाभू हुनुपर्नेमा छ्वयला प्वाः गन भएको थियो भने आज भुज्याः हुनुपर्ने दिनमा भने छ्वयलाभू गरिएको छ ।
गाःबहालका स्थानीय बासिन्दा हिजो छ्वयला प्वाः गन हुँदा भने दुःखी भएका थिए । साथै गाःबहालका नातागोताकोमा पाहुना गएका पाहुनाहरु पनि जात्रा बीचमै रोकिँदा न्यास्रो मान्दै फर्किनु परेको थियो ।
हिजो पुल्चोकबाट रथयात्रा सुरु भएपछि नै रथको जंघः बिस्तारै बिस्तारै बायाँतर्फ ढल्किन थालेको थियो । नःटोलसम्मको बाटो अलि फराकिलो भएको कारण रथको जंघः तान्दै गाःबहालतर्फ बढाईएको थियो ।
तर नःटोल पछिको बाटो साँघुरो भएपछि जंघः तान्न अप्ठ्यारो भएर रथ अगाडी बढाउन गार्हो भएको थियो ।
जंघः तानेर सिधा बनाउन खोजिएपनि रथ ढल्किएर घर घरमा थोक्किन जाँदा घरको झिंगटि, ईँट्टाहरु खस्ने सम्भावना देखिएको थियो ।
त्यसपछि सम्भावित धनजनको क्षति र दुर्घटनाबाट बचाउन रथलाई गाःबहाल भन्दा करिब २ सय मिटर अगाडि श्रीबहालमा राख्ने निर्णय गरिएको गुठी संस्थान कार्यालय ललितपुरले जनाएको छ ।
भोलि भने रथयात्रा नहुने जनाइएको छ । रथको आवश्यक मर्मत कार्यको लागि भोलि रथ नतानिने जनाइएको छ ।
यसपालि रथ बनाउन सुरु भएकै समयदेखि प्रत्यक्षदर्शी आम सर्वसाधारणले रथ केही बाङ्गो र ढल्किएको देखिएको बताउँदै आएका थिए ।
अझ यसपालि त निमार्ण क्रममै रथ भाँच्चिन समेत पुगेको थियो ।
कतिले यसलाई अशुभको संकेत पनि भनेका छन् भने कतिले कीर्तिपुरमा शक्ति स्वरुपा कन्या कुमारीसँग रातो मच्छिन्द्रनाथको मूर्ति स्थापना गरिएकोले नै यस्तो अनिष्ट भएको भनेर टिप्पणी गरेका छन् ।
कसैले भने यो प्राविधिक त्रुटीमात्र भएको र यसलाई प्राविधिक पक्षबाट हेरेर सामान्य ढङ्गले लिनुपर्ने विचार राखेका छन् ।
रथयात्राकै क्रममा मीननाथको रथ भने हिजै गाःबहाल पुर्याइएको छ ।
हरेक बर्ष बैसाख शुक्ल प्रतिपदाको दिन रातो मच्छिन्द्रनाथलाई तःबहालबाट खटमा बोकेर ल्याई पुल्चोकमा रथारोहण गराइन्छ ।
रथारोहण गरेको चौथो दिन अर्थात बैसाख शुक्ल चतुर्थीको दिनमा रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट तानेर गाःबहाल पुर्याइन्छ ।
पूल्चोकदेखि गाःबहालसम्मको जात्रालाई रातो मच्छिन्द्रनाथलाई नेपाल ल्याउन भक्तपुरका राजा नरेन्द्रदेव र ललितपुरका रथचक्र ज्यापुसँग कामारुकामाक्ष गएका काठमाडौंका बन्धुदत्त आचार्यको जात्रा भनिन्छ ।
विगतमा पुल्चोकदेखि गाःबहालसम्म रथ तान्न काठमाडौंबासी नै जानुपर्ने चलन रहेको विज्ञहरु बताउँछन् ।
त्यस्तै गाःबहालपछि सुन्धारासम्म रथ तान्ने जात्रालाई भक्तपुरेको जात्रा भनिन्छ भने लगनखेलको जात्रालाई ललितपुरेको र जाउलाखेलको जात्रालाई सातगाउँलेको जात्रा भनिन्छ ।
Categorized in संस्कृति