arin enterprises

सेतो मच्छिन्द्रनाथ (जनबहा द्यः)को जात्रा आज सकिने

SamacharDesk – Ram Dangol | २०७९ चैत्र १९, आइतबार

वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वर अर्थात् सेतो मच्छिन्द्रनाथको रथयात्रा आज सम्पन्न हुँदैछ ।

करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई गत बुधबार जनबहालबाट तीनधारा पाठशालासम्म खट यात्रा  गरी जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गराएको थियो ।

अन्तिम दिन हिजो लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न भएको छ ।

आज सेतो मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट ओराली खटमा राखेर बाजागाजासहित जनबहालस्थित कनकचैत्य महाविहार पुर्याइएपछि यस वर्षको जात्रा सम्पन्न हुनेछ ।

मच्छिन्द्रनाथको मूर्तिलाई खटमा बोकेर लगनबाट दलाछि द्यःलँ, यूतुननि, क्वहिति, भिमसेनस्थान, मरुबाट यटखा हुँदै नरदेवी किलागल, भेडासिंह, केलटोलदेखि मच्छिन्द्रबहाल पुर्याईनेछ र यस वर्षको जात्रा सम्पन्न हुन्छ ।

सेतो मच्छिन्द्रनाथको रथजात्रा विना वाधा अवरोध सम्पन्न भएमा वर्षा राम्रो भई बालीनाली समेत राम्रो हुने जनविश्वास रहेको छ ।

करुणामयको रुपमा लिइने सेतो मच्छिन्द्रनाथलाई नाथ अनुयायीहरुले मत्स्येन्द्रनाथ, सूर्यका उपासकहरुले सूर्यदेव, शाक्तहरुले शक्ति र महायानी, बज्रयानी वौद्ध धर्मावलम्बीहरुले आर्यावलोकितेश्वरको रुपमा पुज्ने गरेका छन् ।

Categorized in संस्कृति