arin enterprises

अन्नदाताको रुपमा पुजिने सेतो मच्छिन्द्रनाथको जात्रा सुरु

SamacharDesk – राम डंगोल | २०७९ चैत्र १५, बुधबार

वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वर अर्थात् सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट शुरु हुँदैछ ।

काठमाडौँ उपत्यकाका बृद्धबृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ । करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई आज साँझ ४ बजे जनबहालबाट तीनधारा पाठशालासम्म सेतो मच्छिन्द्रनाथको खट यात्रा हुनेछ ।

तत्पश्चात जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ । अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ ।

र, रथबाट ओराली खटमा बोकेर मच्छिन्द्र बहालमै फकाईएपछि यो वर्षको जात्रा सम्पन्न हुने गर्दछ ।

किम्बदन्ती अनुसार परापूर्व कालमा जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए । उक्त मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाइराख्दा त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्याई जनबहालमा स्थापना गरिएको किम्वदन्ती छ । सोही परम्परा अनुसार हालपनि मूर्ती फेला परेकै स्थान जमलको तीनधारा पाठशालामा रथ बनाउने चलन छ ।

उपत्यकामा जमल र बनेपा, नालाको सेतो, ललितपुरको बुङमति र चोभारको रातोसहित चार वटा मच्छिन्द्रनाथ छन् । धार्मिक सहिष्णुताको प्रतिक सेतो मच्छिन्द्रनाथलाई शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्धमहायन तथा बज्रयान सम्प्रदायले आर्यअवलोकितेश्वरका रूपमा पूज्ने परम्परा छ ।

यस वर्षको सेतो मच्छिन्द्रनाथ (जनबहाःद्यः) रथयात्राको लार्गी सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले विज्ञप्ती जारी गर्दै रथयात्राको कार्यक्रमहरु सार्वजनिक गरिएको छ । समितिबाट जारी विज्ञप्ती अनुसार चैत्र १५ गते बुधबार साँझ ४ बजे मच्छिन्द्र बहालबाट तीनधारा पाठशालासम्म सेतो मच्छिन्द्रनाथको खट यात्रा हुनेछ ।

मच्छिन्द्रनाथलाई रथारोहण गराइसकेपछि ५ बजेबाट रथ तान्न सुरु गरिन्छ । जमलबाट रथ तानेर भोटाहिति हुँदै असन पुग्नको लागि साँझको ५ बजेदेखि ६ः३० सम्मको समय राखिएको छ ।

त्यस्तै १६ गते बिहिबार रथलाई असनबाट बालकुमारी हुँदै केलटोल, इन्द्रचोक मखन हुँदै  हनुमानढोका कालभैरव अगाडी पुर्या इनेछ । यो रथयात्रा पनि ५ बजे सुरु गरेर ६ः३० सम्ममा हनुमान ढोका पुर्या उने लक्ष्य राखिएको छ ।

१७ गते ४ बजे हनुमानढोकाबाट रथयात्रा सुरु हुनेछ । रथलाई हनुमानढोकाबाट चिकंमुगल, जैशीदेवल, ज्याबहाल हुँदै ६ः३० बजे लगन पुर्या इनेछ ।

१८ गते साँझ ५ः३० बजेदेखि ५ः३० बजेसम्म लगनस्थित मां सिमा (मच्छिन्द्रनाथको आमा रुख) परिक्रमा गराउने कार्यक्रम रहेको छ । १९ गते मच्छिन्द्रनाथलाई रथबाट ओराली खटमा बोकेर मच्छिन्द्र बहालमै फर्काइनेछ ।

मच्छिन्द्रनाथको मूर्तिलाई खटमा बोकेर लगनबाट दलाछि द्यःलँ, यूतुननि, क्वहिति, भिमसेनस्थान, मरुबाट यटखा हुँदै नरदेवी किलागल, भेडासिंह, केलटोलदेखि मच्छिन्द्रबहाल पुर्याईनेछ । यो कार्यक्रमको लागि साँझको ५ः३० बजेदेखि ७ः३० बजेसम्मको समय राखिएको छ ।

Categorized in संस्कृति