वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ जात्रा शुरु
SamacharDesk – राम डंगोल | २०८१ बैशाख ३०, आइतबार

वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ हिजो शनिबारबाट तान्न सुरु भएको छ ।
बैशाख शुक्ल प्रतिपदावाट शुरु हुने काठमाडौं उपत्यकाकै सबैभन्दा लामो जात्रा असार महिनाको शुक्ल चौथीसम्म करिब २ महिनासम्म मनाइन्छ । सहकालका देवता मछिन्द्रनाथ, जस्लाई मत्स्यनाथ, गुरु करुणामय अनि स्थानीय भाषामा बुंगद्यः का रुपमा पनि पुजिन्छ ।
विगतको १६०० भन्दा धेरै वर्षदेखि यो प्राचिन जात्रा उत्तिकै उत्साह, भक्ति अनि पवित्रताका साथ मनाइदै आएको मानिन्छ ।
मच्छिन्द्रनाथलाई अक्षया तृतीयाको दुई दिन अघि अर्थात् बैसाख शुक्ल प्रतिपदाको दिनमा रथमा विराजमान गराइन्छ भने अक्षया तृतीयाको भोलिपल्टबाट रथयात्रा सुरु गर्ने प्रचलन रहेको छ । रथ यात्राको पहिलो दिन पुल्चोकमा निर्माण गरिएको रथ शनिबार बाजागाजासहित गःबहाल पु¥याइएको छ ।
रथ निर्माण यही वैशाख १२ गतेबाट शुरु भएको थियो भने वैशाख २७ गते मत्स्येन्द्रनाथलाई रथारोहण गराइएको थियो ।
रथलाई पाटनका सबै टोल घुमाएपछि असार शूक्ल चौथीमा जावलाखेल पु¥याएर अन्तिम दिन भोटो देखाई अन्त्य गर्ने चलन छ । रथयात्राको पहिलो दिन रथलाई पुल्चोकबाट तानेर गाःबहाल पुर्याइन्छ ।
गाःबहाल पुर्यादिने दिनको जात्रालाई गाःबहाःयाः भनिन्छ । त्यसपछि क्रमशः सुन्धारामा नुगःयाः, लगनखेलमा लगंया, याकः मिसा भुज्याः पछि साइत अनुसार जावलाखेलमा रथ पुर्याएर भोटो जात्रा पछि जात्रा सम्पन्न हुने गर्दछ ।
रथ यात्रा हेर्नका लागि ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनको निमन्त्रणामा युरोपेली युनियन, फ्रान्स, इजरायल, नर्वे, दक्षिण कोरिया, स्वीजरल्याण्ड, थाइल्याण्ड, संयुक्त अधिराज्यलगायत देशका राजदूत र विश्व बैंक, युनिसेफ, युएसएआइडी, एसियाली विकास बैंकलगायत निकायका प्रतिनिधिहरु सहभागी थिए ।
किंवदन्ती अनुसार लिच्छवि राजा नरेन्द्रदेवका पालामा गुरू गोरखनाथले नवनागको आसन बनाई बसिदिएका कारण बाह्र वर्षसम्म पानी नपरी अनिकाल लागेपछि राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचाजु, ललित ज्यापु तथा कर्कोटक नागराजा समेत भारतको कामरूप कामाख्या गइ ‘वुंगद्य’ अर्थात् रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याएको मानिन्छ।
मच्छिन्द्रनाथ देखेपछि गोरखनाथ गुरूको दर्शनका लागि जानेक्रममा नवनाग मुक्त भई वर्षा भएको विश्वास छ।
Categorized in संस्कृति