सेता मच्छिन्द्रनाथको न्हवं अर्थात् महास्नान सम्पन्न
SamacharDesk – राम डंगोल | २०७९ पौष १६, शनिबार

सेता मच्छिन्द्रनाथ तथा आर्यावलोकितेश्वर नामले चिनिने करुणामयको महास्नान हिजो सम्पन्न भएको छ ।
स्थानीया भाषामा उक्त कार्यलाई “न्हवं” भन्ने गरिन्छ । पौष शुक्ल पक्ष अष्टमीका दिन हिजो मच्छिन्द्रनाथ मन्दिर अगाडिको मण्डपमा राखेर हिजो अपरान्हको शुभसाइतमा महास्नान अर्थात् न्हवं गराएको थियो ।
महास्नानका लागि एक दिन अगाडि नै भचाखुसीबाट तामाको घडामा पवित्र जल ल्याउने गरिन्छ । उक्त समयमा गुरुज्यूद्वारा मन्त्रोचारण गरी दुई जना विहारका थकालीहरुबाट महास्नान गराइएको थियो ।
महास्नान गराउँदा सुरुमा एक दिन अगाडि ल्याएको जलबाट गराइयो भने पुनः तातोपानीले स्नान गराइएको थियो । तत्पश्चात दूधबाट महास्नान गराइएको थियो । महास्नानको बेला हेर्न आउने सबै भक्तजनहरुलाई महास्नानको पवित्र जलले सिञ्चन गराइएको थियो ।
महास्नानपछि लोकेश्वर भगवानलाई वस्त्र धारण गराई मन्दिर घुमाएर पुनः मन्दिरभित्र स्थापना गराएको थियो । करुणामयको महास्नान दर्शन गराउन जीवित देवी कुमारीलाई पनि उपस्थित गराइएको थियो ।
न्हवंकाबारेमा जानकारी दिंदै गुरुजु विकास शाक्यले “हामी साधारण मानिसको जस्तै सेतो मछिन्द्रनाथको पनि जन्म, अन्नप्राशन, व्रतबन्ध, विवाह आदि सम्पूर्ण कर्महरु गर्ने गरिन्छ।
सेतो मछिन्द्रनाथ पुरुष र नारी दुबैको प्रतीक भएकोले नेवा: संस्कार अनुसार नारीलाई गरिने इहि बेल विवाह, बाह्रा आदि पनि गर्ने गरिन्छ। दशकर्म विधि सक्किएपछी मछिन्द्रनाथको मुर्तिलाई पुन: मन्दिरमा स्थापना गरिन्छ ।”
यसरी जलाभिषेक र दशकर्म विधि गरि मन्दिरमा स्थापना गरिएका सेतो मछिन्द्रनाथलाई फेरि चैत्र कृष्ण अष्टमीको दिन निकाली जमल स्थित रथमा राखी ३ दिन भव्य रथ जात्रा गर्ने गरिन्छ।
उपत्यकामा रहेको ५ करुणामयहरु मध्ये एक मानिने श्री सेतो मछिन्द्रनाथलाई पितृहरुको उद्धार गर्ने देवता तथा सुख शान्ती र रोगव्याधी निको पार्ने देवताको रुपमा पूज्ने गरिन्छ।
Categorized in संस्कृति