arin enterprises

काठमाडौँ महानगरबाट प्रसुति गृह र वीरलाई मेसिन सहयोग

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ श्रावण ४, आइतबार

काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र प्रसुति तथा स्त्री रोग अस्पताल थापाथलीलाई कोभिड–१९ परिक्षणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । 

भगिनी सम्वन्ध स्थापित जनवादी गणतन्त्र चीनको तिब्बत स्वशाशित क्षेत्रमा रहेको ल्हासा नगरले महानगरपालिकालाई अनुदान स्वरुप दिएका केही स्वास्थ्य सामाग्री ती दुई अस्पताललाई आज हस्तान्तरण गरिएको हो ।  

१४ लाख ९९ हजार ३ सय ७५ चिनियाँ युआन अर्थात करीब २ करोड ५७ लाख २९ हजार २७५ रुपैयाँ बराबरका ती स्वस्थ्य सामाग्री मध्ये आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा वीर अस्पताललाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन १ थान, न्युक्लेइक एसिड एट्राक्सन रिएजेन्ट ३००० थान, भिटिएम १५ सय थान, आरडीटी १५ सय थान र पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीइ) ५ सय थान हस्तान्तरण गरिएको हो । 

त्यसैगरी प्रसुती गृहलाई पीसीआर मेसिन एक थान, भिटिएम १५ सय थान, आरडीटी १५ सय थान र पीपीइ ५ सय थान हस्तान्तरण गरिएको काठमाडौँ महानगरपालिका शहरी स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र विलास बज्राचार्यले जानकारी दिनुभयो । 

प्रसुती गृहलाई हस्तान्तरण गरेको पीसीआर मेसिनको मूल्य ४ लाख ४० हजार युआन र वीर अस्पताललाई हस्तान्तरण गरेको स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिनको मूल्य १ लाख युआन रहेको महानगरपालिकाले जानकारी दिएको छ ।  

सो अवसरमा कामपाका प्रमुख शाक्यले अस्पताललाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

‘यो अहिलेको अवस्थामा पर्याप्त सहयोग होइन । तपाईँहरुले जति सक्दो बढीलाई सेवा दिनुहोला र यसको उच्चतम सदुपयोग गर्नुहोला’ शाक्यले भन्नुभयो । ‘आगामी दिनमा थप सहयोग गर्न हामी तयार छौँ ।’ 

कार्यक्रममा बोल्दै वीर अस्पतालका निर्देशक डाक्टर केदार प्रसाद सेन्चुरीले आगामी दिनमा पनि महानरपालिकासँग थप सहयोगका अपेक्षा गरेको बताउनुभयो । 

प्रसुतीगृहका निमित्त निर्देशक डाक्टर सन्दिप पौडेलले पनि महानगरपालिकाले यस्तो अवस्थामा गरेको सहयोगको खुलेर प्रशंसा गर्नुभयो ।  

काठमाडौँ महानगरपालिकाको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका अधिकृत यम वस्यालले ल्हासाबाट स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन १ थान, यसमा प्रयोग हुने रिएजेन्ट ३ हजार थान, पिसिआर मेसिन १ थान, भिटिएम ३ हजार थान प्राप्त भएको जानकारी दिनुभयो ।  

यस्तै आरडीटी किट ३ हजार थान, डिस्पोजेबल सर्जिकल पञ्जा २ हजार ५ सय थान, मेडिकल मास्क ३ हजार थान, इन्फ्रारेड थर्मोमिटर ३ सय ७५ थान र पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीइ) २ हजार ६ सय थान रहेका छन् । 

अन्य सामाग्री महानगर आफैंले प्रयोग गर्ने जनस्वास्थ्य महाशाखाले जनाएको छ ।

Categorized in स्थानीय