arin enterprises

साँखुमा माधव नारायण व्रत सुरु

SamacharDesk – बिराज | २०७९ पौष २२, शुक्रबार

काठमाडौंको उत्तर पूर्वी कुनामा रहेको साँखुमा आजबाट माधव नारायण व्रत आरम्भ भएको छ । ऐतिहासिक नगरी साँखुको धार्मिक महत्व बोकेको शालीनदीमा माधव नारायण व्रत सुरु गरिएको हो ।

यस वर्ष व्रत बस्ने व्रतालुको संख्या जम्मा २१५ रहेको श्री माधव नारायण स्वस्थानी व्रत कथा तथा शालीनदी सुधार समितिले जनाएको छ । समितिका अनुसार व्रत बस्नेमा १९० जना महिला  छन् भने पुरुषको संख्या २५ रहेको छ ।

यो संख्यामा ४ दिनसम्म केही थपघट हुन सक्ने समितिले जनाएको छ ।

व्रत स्थल शालिनदीमा लायन्स क्लब अफ साँखुको अगुवाई र लायन्स क्लबका विभिन्न शाखाहरुको संलग्नतामा आजबाट एक महिने निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालनमा आएको छ ।

हरेक वर्ष पौष पूर्णिमाबाट माघ पूर्णिमासम्म एक महिना चल्ने यस व्रतलाई निकै कठिन व्रत मानिन्छ ।

व्रत बस्नेहरुले ब्रत सुरु गर्नु अघिल्लो दिन अर्थात पौष शुक्ल चतुर्दशीको दिन ‘चि भ्वय् नयेगु’ भनेर भोज खाने गर्छन् ।

आजबाट प्रत्येक दिन व्रत पूजा गर्नका लागि हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिनुपर्छ । माधव नारायणको व्रत गरी बेलुकी आरती दिएर एक छाक शुद्ध भोजन गर्ने गरिन्छ ।

बेलुकी स्कन्दपुराणको केदारखण्डमा माघ माहात्म्य अन्तर्गतको कुमार अगस्त्यबीचको संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पापमोचन भई पुण्य कमाइने धार्मिक विश्वास छ ।

महादेव पति पाउँ भनी पार्वतीले यो व्रत बसेको धार्मिक विश्वास पनि रहेको छ । यो व्रत स्वयम् नारायणले नै पार्वतीलाई सिकाएको र नारायणलाई गुरु मानेर माधव नारायणको व्रत बसेपछि मात्र पार्वतीले शिव पति पाएको कथन रहेको छ ।

Categorized in संस्कृति