arin enterprises

आजबाट साँखुमा माधवनारायण व्रत शुरु

SamacharDesk – बिराज | २०७८ माघ ३, सोमबार

काठमाडौंबाट १७ किलोमिटर उत्तरपुर्वमा अवस्थित प्राचीन नगरी शंखरापुर साँखुमा आजबाट माधवनारायण स्वस्थानी व्रत शुरु भएको छ ।

हरेक वर्ष पौष शुक्ल पुर्णिमाबाट शुरु भएर एक महिनासम्म चल्ने माधवनारायण श्री स्वस्थानी व्रत मेला आजबाट शुरु भएको हो । यस वर्ष जम्मा १५० जना व्रतालुहरु व्रत पूजामा सहभागी भएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ ।

व्रत पूजाको क्रममा व्रतालुहरु विहानै नुहाईधुवाई गरी शुद्ध भएर माधवनारायणको पूजा गर्ने र मध्यान्हमा श्री स्वस्थानीको कथा श्रवण गर्ने गरिन्छ ।

यस वर्ष साँखुको माधवनारायण व्रत पूजामा सहभागी हुन इच्छा देखाउनेको संख्या ठुलो रहेको भएपनि वर्तमान संक्रमणको जोखिमको अवस्थालाई ध्यानमा राख्दै सिमित संख्यामा मात्र व्रतालुहरुलाई सहभागी गराई व्रत पूजा शुरु गरिएको समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले जानकारी दिए ।

अहिलेसम्म अटुट रुपमा हरेक वर्ष निरन्तर रहँदै आएको व्रत मेला यस वर्ष संक्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा सक्दो स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर शुरु गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

‘व्रतालुहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै हामी सबैलाई यहाँ भीडभाड नहुने गरी नआइदिन अनुरोध गर्न चाहन्छौं । आउनु नै हुन्छ भने मास्क, स्यानिटाइजर प्रयोग गर्नुहुन र सामाजिक दुरी कायम गर्दै दुरदर्शन मात्र गरीदिनु हुन अनुरोध छ’ अध्यक्ष श्रेष्ठले भने ।

परापूर्वकालमा लावण्य देशका राजा नवराजकी श्रीमति चन्द्रावतीले श्रीस्वस्थानीको प्रसादको अपमान गरेको पापले साँखुको शालिनदीमै रोगले एक ढिक्का भई बस्नुपरेको र शालिनदीमै व्रत बसेको प्रभावले सम्पूर्ण पाप नाश भई पुण्य प्राप्त भएको किम्वदन्ति यस व्रत र शालिनदीसँग जोडिएको छ ।

Categorized in संस्कृति