महानगरले फेरि बजार अनुगमन तिब्र पार्याे
SamacharDesk | २०७९ कार्तिक १, मंगलबार

चाडवाड नजिकिएसँगै काठमाडौं महानगरले बजार अनुगमन तिब्र बनाउन थालिएको छ ।
महानगरले आज नयाँ बानेश्वर क्षेत्रका मिठाई पसल, रेष्टुरेन्ट तथा थकाली खाना घरहरूको भान्छामा अनुगमन गरेको छ ।
यस क्रममा स्वास्थ्य विभागको नेतृत्वमा क्रममा वडा नं १० मा रहेको द थकाली एण्ड सेकुवा क्याफे र थाकखोला ग्रुप प्रा.लि.ले सञ्चालन गरेको थकाली भान्छा, वडा नं. ३१ मा सञ्चालित कोलकत्ता स्वीट्स प्रा.लि., द बर्गर हाउस (सीएफसी), लोकप्रिय लुम्बिनी तन्दुरी भोजनालयको अनुगमन गरिएको थियो ।
महानगरको स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीसहितका टोली पुगेको उक्त पसल तथा भान्साहरुमा सरसफाइ र स्वच्छताका दृष्टिले कमजोर भेटिएको छ ।
त्यस्तै परिकार बनाउने कच्चा पदार्थहरू चामल, दाल, मसलाको उपयोग म्यादका विषय तथा व्यक्तिगत सफाईमा समेत कमजोर देखिएको महानगरले जनाएको छ ।
फ्रिजमा राखिने वस्तुहरु मिति नाघेको फोहोर देखिएको छ । खाद्य अनुज्ञा पत्र प्राप्त नभएका, उपभोग्य मिति उल्लेख नभएका बस्तुहरूको प्रयोग भएको महानगरले फेला पारेको छ ।
यसरी उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पुग्ने गरी व्यवसाय सञ्चालन गर्ने होटल तथा मिठाइ पसल सञ्चालकलाई तीन दिनभित्र कार्यालयमा हाजिर हुन भनिएको छ ।
Categorized in स्थानीय