महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै
SamacharDesk | २०७९ आषाढ ५, आइतबार

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज आउँदैछ ।
दिउँसो ३ बजे राष्ट्रिय सभा गृहबाट मेयर बालेन्द्र शाहले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । महानगरको कार्यपालिकामा प्रतिनिधित्व गर्ने वडाध्यक्षहरुको समेत भावना र सुझावलाई समेटेर नीति तथा कार्यक्रम तयार पारेको बताइएको छ ।
काठमाडौं महानगरपालिकाले यही असार १० गते बजेट ल्याउने तयारी गरेको छ । स्वतन्त्र उम्मेरबार शाह मेयरमा निर्वाचित भएपछिको पहिलो नीति तथा कार्यक्रम भएकाले महत्वका साथ हेरिएको छ ।
नगरसभामा मेयर साह अल्पमतमा रहेकाले नीति तथा कार्यक्रम पास गराउन राजनीतिक दलबाट उम्मेदवार बनेर चुनिएका जनप्रतिनिधिहरुको साथ चाहिने छ ।
यसैबीच नीति तथा कार्यक्रमबारे छलफल गर्न आज बिहान काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठक बसेको थियो ।
Categorized in राष्ट्रिय