महाशिवरात्रीको अवसरमा शिवालयहरुमा दर्शनार्थीको घुइँचो
SamacharDesk – समाचारडेस्क | २०८० फाल्गुण २५, शुक्रबार

हिन्दूहरुको महान पर्व महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी मनाइँदैछ ।
काठमाडौंको पशुपतिनाथसहित देशैभरका शिवालयहरुमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । आज भक्तजनले शुद्ध भएर शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
शिवको पूजा आराधना गरे सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको पाइन्छ । पशुपतिनाथदेखि लिएर टोल टोलका ससाना शिव मन्दिरहरु पनि विशेष ढङ्गले सजाइएका छन् ।
आज दर्शनको लागि पशुपतिनाथको चारवटै ढोका विहानैदेखि खोलिएका छन् । आजको दिन नेपालका विभिन्न स्थानको साथै छिमेकी राष्ट्र भारतबाट समेत भक्तजन दर्शनको लागि पशुपति पुग्ने गर्दछन् ।
शिवरात्रीमा शैव धर्मावलम्बीहरु बिहानै नदी, कुण्ड वा तलाउमा गरु स्नान गरी शुद्ध भएर शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्ने गर्दछन् ।
पूजाको क्रममा भगवान शिवको प्रिय वस्तुको रुपमा लिइने दुध, धतुरो, बेलपत्र चढाउने गरिन्छ । आजै व्रत बसेर रातभर जाग्राम बस्ने चलन छ । यो दिन महिलाहरु महादेवजस्तै वर पाउँ भन्ने कामनासहित व्रत बस्ने गर्छन् । महाशिवरात्रीको व्रतलाई व्रतमध्ये सर्वोत्तम मान्ने गरिएको छ ।
आजकै दिनमा महादेव पार्वतीको विवाह भएको धार्मिक मान्यता रहि आएको छ भने समुद्र मन्थन गर्दा यहि दिनमा कालकुत विष निस्केको र महादेवले उक्त विष सेवन गरी नीलकण्ठ बनेको विश्वास पनि रहेको छ ।
साथै आज बेलुकी टोलटोलमा दाउरा बालेर आगो ताप्ने गरिन्छ । शिवरात्रीको आगो तापेपछि जाडो कम हुँदै जाने विश्वास समाजमा रहि आएको छ ।
Categorized in राष्ट्रिय