महायज्ञमा ३ करोड बढि रकम संकलन
SamacharDesk – बिराज | २०७९ बैशाख १४, बुधबार

पर्यटकीय स्थल पोखरा २२ को पुुम्दीकोटमा १० दिन संचालन भएको महायज्ञमा ३ करोड ५२ लाख रुपैया संकलन भएको छ ।
पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत मंगलबारसम्म संचालन भएको उक्त महायज्ञबाट सो रकम संकलन भएको महायज्ञका आर्थिक उपसमिति सह–संयोजक निर्मल बरालले बताए । महायज्ञको दशौं दिन (मंगलबार) मात्र करिब १५ लाख १९ हजार रुपैयाँ संकलन भएको बरालले बताए ।
वैशाख ४ देखि १२ गतेसम्म संचालन हुने भनिएको महायज्ञ दाताहरुको माग अनुसार एक दिन थप गरी १० दिनसम्म संचालन गरिएको समितिले जनाएको छ । महायज्ञको औपचारिक रुपमा समापन गर्दै समितिका अध्यक्ष चन्द्रकान्त बरालले महायज्ञ सफल पार्न संस्थागत र व्यक्तिगत तहबाट सहयोग गर्ने सम्पूर्णलाई कृतज्ञता व्यक्त गरे ।
अब बिशाल महादेवको मुर्ति निर्माण अभियान पुनः तिव्र गतिमा अघि बढाउने आफुहरुको योजना रहेको अध्यक्ष बरालले बताए ।
महायज्ञमा मुख्य बाचकको रुपमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम रहेका थिए ।
दोश्रो पटक आयोजना गरिएको महायज्ञमा पनि दाता र शिवका भक्तहरुको उत्साहजनक रुपमा सहभागिता रहेको आर्थिक उपसमिति संयोजक डिल्लीराम बरालले बताए । दोश्रो महायज्ञबाट प्राप्त सहयोगलाई पारदर्शी ढंगले आवश्यक पर्ने भौतिक पुर्वाधार निर्माणमा आफुहरुले जोड दिने उपाध्यक्ष हिमलाल बरालले बताए ।
Categorized in समाज