महेश्वर जुजु तन्त्र साधना रत्न उपाधीबाट सम्मानित हुँदै
SamacharDesk – बिराज | २०७८ पौष २५, आइतबार

नेपाली संस्कृतिको अध्ययन अनुसन्धानमा लामो समयदेखि सक्रिय रहँदै आएका संस्कृति तथा तन्त्रविद् महेश्वर जुजुलाई ‘तन्त्र साधना रत्न’ उपाधीबाट सम्मानित हुने भएका छन् ।
तन्त्र चर्चा परिवारले आउँदो माघ ४ गते काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै जुजुलाई उक्त उपाधीबाट सम्मान गर्न लागेको हो ।
सोही कार्यक्रममा संस्कृति अध्येता एवम् अनुसन्धाता प्रा. विद्यानाथ उपाध्याय भट्टलाई पनि तन्त्रविद्या शिरोमणि उपाधीबाट सम्मानित गर्न लागिएको छ ।
नेपाली कौल परम्पराको अध्ययन, अनुसन्धान र लेखन क्षेत्रमा उहाँहरुले पुर्याउँदै आएको योगदानको कदर स्वरुप यो सम्मान गर्न लागिएको तन्त्र चर्चाका संयोजक सन्दीप सापकोटाले बताउनुभयो ।
‘नेपाली तन्त्र परम्पराको गहन अध्ययन थोरै मात्र भएको छ, र यो क्षेत्रमा महेश्वर गुरुको योगदानलाई नेपाली समाजले चिन्नै सकेको छैन’, सापकोटाले भने, ‘त्यसैले उहाँहरुको योगदान र उहाँहरुको व्यक्तित्वलाई समाजको अगाडी ल्याउन पनि यो सम्मान गर्न लागेका हौं ।’
सोही कार्यक्रममा तन्त्र सम्वन्धि विभिन्न लेखकहरुको लेख संग्रह पुस्तक ‘तन्त्र चर्चा’ को पनि विमोचन गर्न लागिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेबाट सो पुस्तकको विमोचन हुने आयोजकले जानकारी दिएको छ ।
पुस्तकमा तन्त्र चर्चाका संयोजक सापकोटा, तन्त्रविद्द्वय जुजु र भट्टको साथै जगमान गुरुङ, माधवप्रसाद लामिछाने, मृगेन्द्रराज सुवेदी, डा. सन्ध्या खनाल पराजुली, आभास धरानन्द राजोपाध्यायको साथै थुपै्र अध्येता, अनुसन्धाताहरुको लेख समावेश गरिएको छ ।
Categorized in संस्कृति