arin enterprises

मल्ल राजालाई श्रावणीकर्म र नृसिंह जात्राको निमन्त्रणा

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ २३, मंगलबार

असार पूर्णिमा अर्थात गुरु पूर्णिमा । यो दिन आफुलाई शिक्षादिक्षा दिने, जीवनमा सहि मार्ग देखाउने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ ।

काठमाडौं उपत्यकाका आदिवासी देव ब्राम्हण समुदाय राजोपाध्यायको लागि यो दिन विशेष रहेको छ । यो दिन ललितपुरका देव व्राम्हण राजोपाध्यायहरु एक विशेष परम्परा सम्पन्न गर्ने गर्छन् । गुरु पुर्णिमाका दिन ललितपुरका राजोपाध्याय व्राह्मणहरु ललितपुर दरवारको सुन्दरी चोकमा गई मल्ल राजालाई पुष्पार्पण गर्ने गर्छन् । 

यस पुष्पार्पणलाई आउँदो जनै पुर्णिमाका दिन श्रावणी कर्ममा सहभागी भई नव जनै धारण गन र नृसिंह जात्रा (उपाकलं सायाः) को निमन्त्रणाको रुपमा पनि लिइन्छ ।

ललितपुरका राजोपाध्याय व्राम्हणहरुको उपाकर्म गुठीले हरेक वर्ष नृसिंह जात्राको आयोजना गर्दै आएको छ । सोही जात्राको पालोवालाले पुष्पार्पण गर्न जाने परम्परा रहेको छ ।

यो वर्ष पाटन महाद्यःननिका स्व. कुमारधर शर्मा ‘ज्ञानी’ले पालो चलाउने पालो परेको छ । पालोवाला स्व. शर्माका सुपुत्र शौरभ कुमार शर्माले यस वर्षको पुष्पार्पण परम्परा सम्पन्न गरेका छन् ।

ललितपुरको षटकुलका राजोपाध्याय व्राम्हणका प्रतिनिधिहरु सुन्दरी चोकमा भेला भइ स्वस्तिवाचन गर्दै पुष्पार्पण गरेका थिए ।

स्वस्तिवाचन गर्दै मल्ल राजालाई निमन्त्रणा स्वरुप फुल गुच्छा, सुपारी, जनै, पैसा र फलफुल सुन्दरीचोकमा अवस्थित ढुङ्गाको खाटमा राखिएको थियो । सो अवसरमा मल्ल राजाको प्रतिनिधिको रुपमा गुठी संस्थानका प्रमुखको उपस्थिती रहेको थियो ।

ललितपुरमा उपार्कम गुठीबाट हरेक वर्ष नरसिंह जात्रा निकाल्ने गरिन्छ । सो अवसरमा जात्रा पालोवालाको घरबाट अप्सरागणको साथमा लक्ष्मी, सरस्वतीसहित नरसिंह निकालेर ललितपुरको गाईजात्रामा रुटमा परिक्रमा गराउने गरिन्छ ।

स्थानीय भाषामा उपाकलं सायाः भनिने यस नृसिंह जात्रा सम्पन्न भएपछि मात्रै ललितपुरका देव ब्राम्हणहरुको उपाकर्मले पूर्णता लिने मान्यता रहेको छ ।

यस वर्ष कोरोना महामारीका कारणले साधारण पूजा मात्र गरी जात्राको औपचारिकता पूरा गरिने जनाइएको छ ।

Categorized in संस्कृति