आर्सनल र म्यान्चेस्टर सिटी बराबरीमा
SamacharDesk | २०८१ आश्विन ७, सोमबार
इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति आर्सनल र म्यान्चेस्टर सिटीले २–२ गोलको बराबरी खेलेका छन् ।
म्यान्चेस्टर सिटीको मैदानमा भएको खेलको नवौं मिनेटमै सिटीका अर्लिङ हाल्याण्डले गोल गर्दै टोलीलाई अग्रता दिए । तर आर्सनलका रिकार्डो कालाफियोरी र ग्याब्रियल माघालेसले दुई गोल गरेपछि मध्यान्तरसम्म आर्सनलले २–१ को अग्रता लियो ।
पहिलो हाफको इन्जुरी समयमा अर्सानलका लियान्द्रो ट्रोसार्डले रातो कार्ड खाएपछि टोली १० जनामा समेटियो । दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा सिटीका जोन स्टोन्सले एक गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकिएको हो ।
गएरातिको खेलपछि प्रिमियर लिगको अंक तालिकामा ५ खेलबाट १३ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा उक्लिंदा १२ अंक जोडेको लिभरपुल र एस्टन भिल्ला क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
११ अंक जोडेको आर्सनल चौथो स्थानमा छ भने १० अंकसहित चेल्सी पाँचौ स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स