arin enterprises

सरकारको न्यूनतम साझा कार्यक्रम भोलि आउने

SamacharDesk | २०७९ पौष २१, बिहिबार

सत्ता साझेदार दलहरुले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेका छन् ।

सत्ता साझेदार सात दलबाट एक–एक जना प्रतिनिधि बसेर न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारिएको हो । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारमा सहभागी दलबीच तयार भएको साझा कार्यक्रमको ड्राफ्टलाई शुक्रबारको बैठकमा अन्तिम रुप दिइने जानकारी दिनुभयो।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै यस्तो बताउनु भएको हो। अर्थमन्त्री पौडेलले भन्नुभयो, “साझा कार्यक्रमका लागि कार्यदल गठन भएको जानकारी भइसकेको छ। साझा ड्राफ्ट तयार गरेका छौं।”

जनतासँग सरोकार राख्ने, जनताको मन छुन सक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल र अन्य नीतिगत विषयमा केन्द्रित रहेर न्यूनतम कार्यक्रम ल्याउने तयारी सरकारले गरेको छ ।

हिजो साँझ बालुवाटारमा बसेको बैठकमा पनि न्यूनतम साझा कार्यक्रमबारे छलफल भएको थियो । उता उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिने बताएका छन् ।

मन्त्रिपरिषद्को बैठकपछि सरकारले ल्याउने कार्यक्रमबारे बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचार नियन्त्रणका लागि विशेष कदम चाल्न जोड दिने बताए।

उनले आफ्नो पार्टीको तर्फबाट सरकारको साझा कार्यक्रममा स्वास्थ्य क्षेत्रको सुधार, टाइम कार्ड लगाएर लाइन लाग्नुपर्ने झन्झटलाई अन्त्य गरेर सेवा प्रवाहलाई चुस्त बनाउने, किसानलाई समयमा मल उपलब्ध गराउन अल्पकालीनसहित दिर्घकालिन व्यवस्था गर्ने, युवा स्वरोजगार र गुणस्तरीय शिक्षासहित विभिन्न नीतिगत कार्यक्रम समेटिने बताए।

Categorized in राजनीति