arin enterprises

माओवादी–एमालेको नयाँ सरकार, आजै तीन मन्त्रीको शपथ

SamacharDesk | २०८० फाल्गुण २१, सोमबार

नेपाली कांग्रेस र माओवादी नेतृत्वको सत्ता गठबन्धन भत्किएसँगै नयाँ मन्त्रिमण्डलका लागि गृहकार्य शुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबारै सरकारमा एमालेलाई सहभागी गराएर सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने बुझिएको छ । जसअन्तर्गत साँझसम्ममा नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहणका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष समय माग भएको जानकारी प्राप्त भएको छ ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिसँग भेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने र तीन सदस्यीय विनाविभागीय मन्त्रीहरुको नियुक्ति हुने जनाइएको छ ।  सोमबार बिहान प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षीदल नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुसँग बालुवाटारमा छलफल गर्नुभएको थियो । छलफलसँगै नयाँ राजनीतिक गठबन्धन निर्माण र पुरानो गठबन्धन भत्किने सङ्केत देखिएको थियो ।

आज शपथ लिनुहुने मन्त्रीहरुमा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, नेकपा ९एमाले० बाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डोलप्रसाद (डिपी) अर्यालले विना विभागीय मन्त्रीको पद तथा गोपनीयताको शपथ लिनुहुनेछ ।

बाँकी मन्त्री र जिम्मवारीबारेमा टुङ्गो लगाउन सत्ता गठबन्धनबाट चार सदस्यीय कार्यदल निर्माण गरिएको छ । सो कार्यदलमा नेताहरु एमालेबाट विष्णुप्रसाद पौडेल, माओवादी केन्द्रबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र राजपा नेपालबाट उपेन्द्र यादव रहनुभएको छ ।

स्रोतका अनुसार गएराति अबेरसम्म चलेको बैठकमा जुटेको सहमति अनुसार माओवादी केन्द्रले नेपाली कांग्रेससँगको सहकार्य तोड्ने निर्णय गरेको थियो । एमालेसहितको पुरानै गठबन्धन फर्काउने सहमति राति जुटेपछि आज बिहानैदेखि माओवादी, एमाले, रास्वपा र जसपा आन्तरिक तयारीमा जुटेका थिए ।

यता नयाँ सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबन्डा टुंगो लगाउन सोमबार दिउँसो बैठक बसेको छ ।

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालय भागबन्डा टुंगो लगाउन गठबन्धनमा सहभागी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको शीर्ष नेतालाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका थिए ।

Categorized in राजनीति