शहिद सप्ताह सुरु
SamacharDesk | २०८० माघ १०, बुधबार
शहिद सप्ताह आजबाट सुरु भएको छ । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिनुहुने शहीदहरुको सम्झनामा आजबाट शहीद सप्ताह शुरु भएको छ ।
माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिनुभएको थियो ।
सोही दिनको स्मरण गर्दै आजबाट उहाँको टेकुस्थित शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै शहीद सप्ताह शुरु गरिएको हो ।
सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले उहाँको शालिकमा माला र पुष्पगुच्छा अर्पण गर्नुभयो ।
स्मृति सभामा शास्त्रीको व्यक्तित्वका विषयमा चर्चा गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले भन्नुभयो, ‘नेपाल भाषाको व्याकरण लेख्ने शास्त्री पहिलो व्यक्तित्व हुनुहुन्थ्यो ।
बाल साहित्य लेख्ने पनि उहाँ नै पहिलो व्यक्तित्व हो । उहाँहरूले व्यक्तिगत र पारिवारिक समस्याभन्दा राष्ट्रिय स्वाधीनतालाई ठुलो ठान्नुभयो । यही क्रममा उहाँको बलिदानी भएको हो ।’’
सहिदहरूको बलिदानका कारण अहिले नागरिक स्वतन्त्रता र मानवअधिकार प्राप्त भएको उहाँको भनाइ थियो ।
तत्कालीन जहानियाँ राणा शासकले विक्रम सवतं १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो ।
यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए ।
सात दिन शहीद सप्ताह मनाएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ । प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि भएका राजनीतिक आन्दोलनहरुमा धेरै व्यक्तिहरुले सहादत प्राप्त गर्नुभएको छ ।
उहाँहरुको सबैको योगदानलाई सप्ताहका कार्यक्रममा सम्झना गर्ने तथा कदर स्वरुप स्मृति सभा गरिँदै आएको छ । सहिदहरुको सम्मानमा काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा वि।सं २०१२ सालदेखि सप्ताहव्यापी कार्यक्रम आयोजना हुने गरेका छन् ।
यस वर्ष माघ १३ गते सिफलमा सहिद धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थानमा र १५ गते शोभा भगवतीमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको स्थानमा स्मृति सभा हुनेछ ।
Categorized in राष्ट्रिय