arin enterprises

शहीदको सम्झनामा दिवस मनाईंदै

SamacharDesk | २०८० माघ १६, मंगलबार

देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदैछ ।

राणाशासनविरुद्धमा उत्रिएका क्रान्तियोद्धा चार सहिदको बलिदानको स्मरण गर्दै २०१० सालदेखि हरेक माघ १६ गते सहिद दिवसका रूपमा मनाइन्छ।

हरेक माघ १० गतेदेखि इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाईंदै आएको छ ।

साताव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरि ज्ञातअज्ञात सहीदहरुलाई श्रद्धाञ्जली अर्पण गरी शहीद दिवस मनाइन्छ ।

सोही अनुरुप प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरु आज शान्तिवाटिकामा भेला भएर अर्पण गरियो ।

त्यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर सभामा परिणत भएको थियो ।

वि.सं. १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो ।

यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।

नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ । गणतन्त्र स्थापना गर्नका लागि आफ्नो प्राण दिने शहीदहरुको सम्झनामा पनि आजै शहीद दिवस मनाईंदै छ ।

मुलुकमा सहिदको सङ्ख्या १४ हजारभन्दा बढी पुगेको छ । गृह मन्त्रालयका अनुसार मन्त्रीपरिषद्ले सहिदको सूचीमा १४ हजार ६८० जनाको नाम निर्णय गरेको छ ।

मन्त्रालयका अनुसार तीमध्ये ११ हजार ४१९ जनाको नाम राजपत्रमा छापिइसकेको छ भने तीन हजार २६१ जनाको नाम प्रकाशित हुन बाँकी छ ।

Categorized in राष्ट्रिय