arin enterprises

गगन थापाले कमलपोखरीको नामै परिवर्तन गर्न खोजेको मेयर शाक्यको दावी

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७७ माघ १९, सोमबार

काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमलपोखरी पुनर्निर्माणका क्रममा राजनीति हावी भएको बताउनु भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा मेयर शाक्यले हिजोको दिनमा कमलपोखरीको नामसमेत परिवर्तन गर्न खोजेकाहरुले अनावश्यक विवाद झिकेर सम्पदा पुनर्निर्माणमा अवरोध पुर्याएको बताउनुभयो ।

‘गगन थापाहरूले कमलपोखरीको नामै परिवर्तन गरेर छठपोखरी बनाउन चाहन्थे,’ शाक्यले भन्नुभयो । ‘मैले यसको मौलिक नाम कमलपोखरी नै रहनुपर्छ भनेर अडान लिएको हो ।’

आफुले मौलिकता कायम राख्दै कमलपोखरीको सुन्दर अझ बढाउन खोजेको बताउँदै शाक्यले हिजोको दिनमै त्यहाँ सिमेन्ट ढलान गरी निर्माणहरु भइसकेको बताउनुभयो ।

विघटित संसदका सांसद गगन थापाले आफुलाई कमलपोखरीमा सांसद कोषबाट करोडौं रकम खर्च गरिसकेको भन्दै लिखित पत्र नै पठाएकाले कमलपोखरीमा उहाँले गर्नुभएको खर्च विवरण मागेको शाक्यले भन्नुभयो ।

सांसद थापाले खर्च विवरण पठाएपछि कमलपोखरीमा सिमेन्ट प्रयोग गरी निर्माण कार्य कसले गरेको रहेछ भन्ने प्रष्ट हुने शाक्यको भनाई हो ।

‘त्यहाँ बनाइएका सिंढीमा सिमेन्ट कसले प्रयोग गरेको रहेछ भन्ने कुरा पनि उहाँको विवरण आए पछि थाहा हुन्छ । यदि विवरण दिन सक्नुभएन भने उहाँले खर्च गरेको भनिएको करोडौं रकम हिनामिना गरेको हो कि भन्ने प्रश्न पनि उठ्नेछ’ शाक्यले भन्नुभयो ।

थापाले सबै विवरण दिएपछि छिट्टै कमलपोखरी परिसरमै पत्रकार सम्मेलन गरेर पोखरी पुनर्निमाणबारे सबै जानकारी दिने शाक्यले दोहोर्याउनुभयो । उ

हाँले सम्पदाप्रेमिलाई पनि राजनीति आग्रह–पुर्वाहग्रह लिएर आन्दोलन नगर्न सुझाव दिनुभयो । 

कार्यक्रममा मेयर शाक्यले नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्ला शाखाको कार्यालय उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा पत्रकार दबू, काठमाडौं शाखाका अध्यक्ष अर्विनमान सिंहले काठमाडौं जिल्लाका पत्रकारहरुको हकहित र अधिकारको आवाज बुलन्द गर्दै सक्रिय रहिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा वागमती प्रदेशका सांसद राजेश शाक्य, काठमाडौं महानगरका विभिन्न वडाका वडाध्यक्ष लगायतको उपस्थिती थियो ।

Categorized in स्थानीय