कमलपोखरी पुनर्निर्माणको गतिलाई लिएर मेयर शाक्य असन्तुष्ट
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ चैत्र ३०, सोमबार

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमलपोखरी पुननिर्माणको काम सन्तोषजनक नभएको भन्दै ठेकेदार कम्पनीलाई छिटो काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
कामपा वडा–१ का वडाध्यक्ष भरतलाल श्रेष्ठ, सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठलगायतलाई साथमै लिएर आज कमलपोखरीको निरीक्षणमा पुग्नुभएको हो ।
निरीक्षणका क्रममा प्रमुख शाक्यले जय धनञ्जय कडेँल निर्माण सेवा जेभीका आधिकारिक प्रतिनिधि इन्द्र सिटौलालाई पटक–पटक सयमसिमा थप गर्ने पक्षमा महानगरपालिका नरहेको प्रष्ट पार्नुभयो ।
‘चैत मसान्तसम्म काम सक्ने गरी हामीले ठकेकेदार कम्पनीलाई अन्तिम मौका दिएका छौँ,’ शाक्यले भन्नुभयो, ‘केही दिन भित्रै पोखरीमा पानी टनाटन भर्ने तयारीमा छौँ । हामीले पुननिर्माणकै क्रममा आकाशे पानी पोखरीमा जम्मा हुने व्यवस्था गरेका छौँ ।’
डिजाइन अनुसार तलमाथि नहुने गरी काम सम्पन्न गर्न पनि शाक्यले निर्देशन दिनुभयो ।
निर्माण कम्पनीका प्रतिनिधि इन्द्र सिटौलाले बढीमा दुइ हप्ताभित्र पुनर्निर्माणको काम सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सिटौलाले चैत मसान्त भित्रै काम सम्पन्न गर्ने गरी कार्य भइरहेको भएपनि भक्तपुर र ललितपुरको बुङमतीका कामदारहरु जात्रापर्वका कारण विदा बसेकाले केही दिन ढिलाई भएको बताउनुभयो ।
प्रमुख शाक्यसँगै रहनु भएका काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठले अहिले पोखरीमा करीब २० लाख लिटर पानी हालेको जानकारी दिनुभयो ।
सो क्रममा महानगर प्रमुख शाक्यले केही व्यक्तिले विना डिजाइनको सामान्य जानकारी कंक्रीटको कमलपोखरी बनाउन लागेको भन्दै भ्रामक प्रचार गरेको दोहोर्याउनुभयो । पहिला बेवारिसे र फोहोर जमेको पाखेरीलाई परम्परागत, सांस्कृतिक र पर्यकटीय रुपमा विकास गर्ने उद्देश्यले डिजाइनमा ध्यान दिइएको प्रष्ट पार्नुभयो ।
काठमाडौँ महानगरपालिकाले कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उद्यान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको जनाएको छ । करीब ६ करोड ३६ लाखको लगानीमा बास्तुशास्त्रमा आधारीत भएर कमलपोखरीको निर्माण भइरहेको पनि महानगरपालिकाले जानकारी दिएको छ ।
Categorized in स्थानीय