arin enterprises

सामूदायिक विद्यालयको गुणस्तरमा ध्यान दिनुपर्नेमा मेयर शाक्यको जोड

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ श्रावण २१, बुधबार

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामूदायिक विद्यालयले चुम्बकीय गुणको विकास गरेर गुणस्तयरीय शिक्षा दिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । 

ज्ञानोदय माध्यामिक विद्यालयमा नेपाल सरकारको सहयोगमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरणको शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले संस्थागत विद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो भनेर गुनासो नगरी सामुदायिक विद्यालयमा त्यो भन्दा राम्रो र गुणस्तरीय शिक्षा दिन सक्नुपर्ने बताउनुभयो ।

सबै सामूदायिक विद्यालयमा सरकारले निशुल्क शिक्षाको व्यवस्था गरेको स्मरण गराउँदै शाक्यले निशुल्क शिक्षाको अर्थ कमजोर शिक्षा नभएको प्रष्ट पार्नुभयो ।

संघीय, प्रदेश र स्थानीय सरकारमा रहेका जनप्रतिनिधि र अविभावकहरुको जिम्मेवारी र दायित्व संस्थागत विद्यालयलाई बन्द गर्ने नभई संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने सामूदायिक विद्यालय निर्माण गर्नु भएको पनि उहाँले बताउनुभयो । 

‘काठमाडौँ महानगरपालिका स्थानीय सरकार भएको नाताले भौतिक पूर्वाधार, शिक्षक–शिक्षिकालाई दिइने तालिमलगायतका लागि तयार छ,’ उहाँले भन्नुभयो, ‘हामीले सामूदायिक विद्यालयको गुणस्तर सुधार गर्न सक्यौँ भने संस्थागत विद्यालय स्वतः कमजोर भएर जान्छन् ।’

सामूदायिक विद्यालयका प्रधानाध्यापकहरुले पनि आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीको भविश्यको जिम्मा म लिनसक्छु भन्ने ध्येयका अघि बढ्दै विद्यार्थी र अविभावकलाई पनि विश्वस्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा कामपा प्रमुख शाक्यले वर्षाको बेला हिलो र घाम लाग्दा धुलो उड्ने अबस्था नहोस् भनेर विद्यालय हाता भित्र मैदान बनाउने लगायतका काम पनि महानगरपालिकाले गरिरहेको जानकारी दिनुभयो । 

काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष ०७७/०७८ का लागि बालमैत्री चित्र तथा महावाणी लेखन, लैंगिक तथा अपाङ्गमैत्री शौचालय निर्माण, सार्वजनिक पुस्तकालय तथा वाचनालयको स्तरोन्नति, प्राविधिक शिक्षा कार्यक्रम, आविस्कार क्लब स्थापना, सिटी पुस्तकालय स्थापनालगायतका शर्षकमा बजेट विनियोजन गरेको छ ।

Categorized in स्थानीय