arin enterprises

आपसी सहकार्यसँगै शहिदको सपना पुरा गर्न मेयर शाक्यको आग्रह

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७७ माघ १६, शुक्रबार

शहिद सप्ताहको क्रममा विहिवार दशरथ चन्द र गंगालाल श्रेष्ठलाई गोली हानी हत्या गरेको स्थान काठमाडौँंको शोभा भगवतीमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ ।

श्रद्धाञ्जली सभामा बोल्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कसैलाई पनि व्यक्तिगत रुपमा चोट नपुयाई सिङ्गो राष्ट्रलाई मुक्तिको बाटो देखाउने चार सहिद आम नेपालीको मनमुटुमा सधैँ रहिरहेको बताउनुभयो ।

तत्कालिन शासकले विभिन्न खाले प्रलोभन देखाउँदा पनि त्यसमा नफसी देशमा प्रजातन्त्र ल्याउन, वाक स्वतन्त्रता प्राप्त गर्न, मानवअधिकारको रक्षा गर्न र हुकुमी शासनको अन्त्यका लागि उहाँहरुले ज्यानको आहुती दिएको स्मरण शाक्यले गराउनुभयो ।

‘त्यतिबेला हतियार प्रयोग गरेको भए केही व्यक्ति घाइते हुन्थे होला, केहीको मरण हुन्थ्यो होला । उहाँहरुले त्यसो गर्नुभएन,’ शाक्यले भन्नुभयो, ‘तर, उहाँहरुको आवाज त्यो भन्दा धेरै सशक्त थियो ।  उहाँहरुको आवाजले देश–विदेश नै तरंगित भयो ।’

एकले–अर्कालाई दोषरोपण गर्ने भन्दा पनि सहकार्य गरेर अघि बढ्ने हो भने मात्रै विकास र समृद्धि अघि बढ्ने उहाँको भनाई थियो । उहाँले सबैको लक्ष्य एउटै भएको भन्दै सबैले सहकार्य गरे मात्रै लक्ष्य भेट्न सकिने बताउनुभयो ।

‘सहिदहरुको प्रतिमा सामुन्ने उभिएर सबैले आपसमा द्वन्द्व र इर्ष्या, होइन एक–आपसमा सहकार्य र समन्वय गरेर सिङ्गो देशमा सामाजिक–आर्थिक, साँस्कृतिक परिवर्तन ल्याउनका एकजुट भएर लाग्ने प्रतिवद्धता व्यक्त गरौँ’ शाक्यले भन्नुभयो ।

सभामा काठमाडौँ महानगरपालिकाका वडा नं. १५ का वडाध्यक्ष एवं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले पनि सहिदको सपना पूरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

हुकुमी शासनको विरोध गरेको र नागरिकलाई स्वतन्त्रताको पक्षमा उक्साएको आरोपमा राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि. सं. १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिने निर्णय गरेका थिए ।

निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु पचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिइएकाे थियाे ।

Categorized in स्थानीय