arin enterprises

पुरातत्वले कमलपोखरी पुनर्निर्माण रोक्न आदेश नदिएको मेयर शाक्यको भनाई

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७७ माघ ७, बुधबार

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुरातत्व विभागले कमलपोखरी पुनर्निर्माणको कार्य रोक्नु भनेर आदेश नदिएको दावी गरेका छन् ।

आज काठमाडौँ महानगरपालिकाको आठौँ नगरसभालाई सम्वोधन गर्दै महानगर प्रमुख शाक्यले कमलपोखरीबारे आएका समाचारका सन्दर्भमा सामान्य ध्यानाकर्षण मात्र गराएको बताउनुभयो ।

साथमा पुरातत्वले यस विषयमा महानगरपालिकासँग समन्वय नगरी सञ्चारमाध्यममा प्रचार गर्नु गलत भएको शाक्यले भन्नुभयो ।

'पुरातत्वले पत्र हामीलाई पठाएर हामीसँग समन्वय गर्ने हो । हामीलाई भन्दा पहिला सञ्चारमाध्ययमलाई जानकारी गराएर असहजता पैदा गर्ने कुरा गलत छ,’ शाक्यको भनाई हो ।

कमलपोखरीको बारेमा चाँडै नै पत्रकार सम्मेलन गरेर आम जनसमुदायलाई सबै सत्यतथ्य जानकारी गराउने शाक्यले भन्नुभयो ।

‘काम गर्ने सिलसिलामा ठेकेदार कम्पनीले गलत गरेको रहेछ भने पनि हामी त्यसको सत्यतथ्य जानकारी दिन तयार छौँ’ शाक्यले बताउनुभयो ।

सो क्षेत्रका तत्कालीन संघीय सांसद गगन थापा, प्रदेश सांसद, सो क्षेत्रका पुराना विज्ञ, जेष्ठ नागरिक, स्थानीय संघ–संस्था सबैसँग पटक–पटक छलफल गरेर सबैको सहमतिमै कमलपोखरीको पुर्ननिर्माणको काम अघि बढाएको जानकारी गराउनुभयो ।

सांसद थापाले पनि मेयरलाई पत्र पठाएको भन्दै सञ्चारमाध्यममा अनावश्यक प्रचार गरेको आरोप लगाउनुभयो ।

पुरातत्वले काम रोक्नु भन्दा–भन्दै रातारात पोखरीमा डोजर चलाएको भन्ने समाचारको सन्दर्भमा पनि सत्य कुरा समाचारमा आएजस्तो नभएको शाक्यले दावी गर्नुभयो ।

विभिन्न सञ्चारमाध्यममा कमलपोखरी मिचियो भन्ने समाचारको पनि शाक्यले खण्डन गर्नुभयो । महानगरी प्रहरी वृत्त लगायत आसपासका भौतिक संरचना हटाउँदा त्यहाँको क्षेत्रफल अझ बढेको उहाँको दावी छ ।

क्रंक्रीटको कमलको फुल राखेर सम्पदा मास्न लाग्यो भन्दै गलत प्रचार गरिएको पनि उहाँले दावी गर्नुभयो ।

‘हामीले त्यहाँ चार कुनामा मौलिकता झल्किने गरी सम्पदाको पनि संरक्षण गर्दै कला र संस्कृतिलाई जोड्ने गरी चार वटा मण्डप बनाउन खोजेका छौँ,’ शाक्यले भन्नुभयो । ‘कंक्रिट नभई मौलिकतालाई जोगाउँदै निर्माण गर्न लागेका हौँ ।’

कमलपोखरीको पुनर्निर्माणमा स्थानीय खुसी नै रहेको बरु बाहिरका मान्छे आएर अनावश्यक प्रचार गरी अवरोध गर्ने काम भएको भन्दै रुष्ट बनेको समेत दावी शाक्यको हो ।

Categorized in स्थानीय