arin enterprises

सर्वोच्चका कारण लगन पार्क निर्माण रोकिएको मेयर शाक्यको भनाई

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ श्रावण १४, बिहिबार

कामपा २१ वडास्थित तःबहालमा थान गणेशसहित देवीदेवताहरू र तुंफः पुनर्निर्माण सम्पन्न भएको छ ।

आज काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले पुनस्र्थापित देवी देवताको पूजा गर्दै संयुक्त रुपमा यसको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख शाक्यले काठमाडौंका संस्कृति, सम्पदाहरू संरक्षण गर्ने क्रममा कुनै गुठी, खलःहरूको आफ्नै जग्गा छ भने त्यहाँ महानगरपालिकाले सांस्कृतिक भवन बनाइदिने गरेको बताउनुभयो ।

‘संस्कृति सम्पदा संरक्षण कार्यमा काठमाडौं महानगरपालिकाले चलाइरहेको काममा बागमती प्रदेश सरकारले पनि सहयोग गरेको छ । काठमाडौंमा सांस्कृतिक वाद्यवादन खरिद गर्न प्रदेश सरकारले ३ करोड रुपैयाँ छुट्याएको छ ।’

प्रदेश सरकारसँगको सहकार्यबाट सम्पदा संरक्षणमा थप योगदान पुग्ने अपेक्षा प्रमुख शाक्यले राख्नुभयो ।

सो अवसरमा शाक्यले सर्वोच्चले रोकेकाले लगन टोलमा लगन पार्क निर्माण रोकिएको जानकारी गराउनुभयो ।

लगनका स्थानीयवासीका लागि बनाउन लागिएको लगन पार्कलाई एक जनाको उजुरीको भरमा रोकिएको जनाउँदै उहाँले अहिले कोरोनाको कारण देखाएर यो मुद्दालाई पेशीमा नचढाईकन रोकिएको बताउनुभयो ।

कामपा २१ वडा कार्यालय र स्थानीय तःबहाः पुचःको संयुक्त प्रयासमा तुंफः र मूर्तिहरू पुनस्र्थापना गरिएका हुन् । यहाँको थान गणेश लगनदेखि दक्षिण भेगमा बस्ने डंगोल, महर्जन, श्रेष्ठहरुले जन्मदेखि मृत्यु पर्यन्तका संस्कारमा पहिले पूजा गर्ने गरेका छन् ।

Categorized in समाज