होम आइसोलेसनबाट संक्रमण नियन्त्रणमा सक्रिय रहने मेयर शाक्यको भनाई
SamacharDesk – बिकाश | २०७७ भाद्र १६, मंगलबार

हिजै मात्र कोरोना संक्रमण पुष्टि भएका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले होम आइसोलेसनमा रहेर पनि कोरोना रोकथाम र नियन्त्रणमा सक्रिय रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
आज एक अपिल जारी गर्दै उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका कामपा मेयर शाक्यले होम आइसोलेसनबाटै काठमाडौं महानगरपालिकाको साथमा नगरपालिकाको दैनिक कामलाई निरन्तर अघि बढाउन प्रयासरत रहने पनि जनाए ।
जनताको कामलाई सर्वोपरी ठानी निरन्तर समर्पित रहने र सोही सिलसिलामै आफु पनि संक्रमित हुन पुगेको मेयर शाक्यले जनाएका छन् ।
सोही अपिलमार्फत शाक्यले आफुलाई कोरोनाको कुनै लक्षण नभएको र आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी समेत गराएका छन् ।
अहिले आफुसँगै आफ्नो परिवार स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित होम आइसोलेसनमा बसेको उहाँले उल्लेख गरेका छन् ।
साथमा शाक्यले कोरोना भाइरस जस्तो अदृश्य शत्रुसँग एक्लाएक्लै लडेर जित्न नसकिने भएकोले सबैले आ आफ्ना ठाउँबाट एकमुष्ट प्रयाश गर्न आव्हान गरेका छन् ।
विभिन्न माध्यमबाट आफ्नो सुस्वाथ्यको कामना गर्ने सबैलाई धन्यवाद दिँदै शाक्यले विगत एक हप्ताभित्रमा आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाले सचेत रहन र आवश्यकता अनुसार पिसिआर परिक्षण गर्न आग्रह गरेका छन् ।
