arin enterprises

काठमाडौँ महानगरपालिकाले कसैलाई भोकै पर्न नदिने मेयर शाक्यको भनाई

SamacharDesk – बिकाश | २०७७ कार्तिक २५, मंगलबार

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाले कसैलाई पनि भोकै पर्न नदिने बताउनुभएको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरुको जिज्ञासाको जवाफ दिदैँ मेयर शाक्यले कसैले मागि खानुपर्ने अवस्था आएमा व्यवस्थापन गर्ने दायित्व काठमाडौँ महानगरपालिका भएको र सो जिम्मेवारी निर्वाह गर्न आफुहरु प्रयत्नरत रहेको बताउनुभयो ।

शाक्यले खुलामञ्चमा निःशुल्क खाना खुवाएको विषय सबैको सरोकार भित्र परेको भन्दै त्यसलाई व्यवस्थापन गरेरै छाड्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।

निशुल्क भोजनको व्यवस्था गरिरहेका संघ–संस्था र व्यक्तिलाई खाना खानेलाई पनि पायक पर्ने गरी फरक–फरक ठाउँमा बन्द स्थानको छनोट गर्न आफुले भनेको जानकारी शाक्यले दिनुभयो ।

उक्त ठाउँको भाडाको साथै खाना खुवाउन आर्थिक अभाव भयो भने खाद्यन्नको समेत व्यवस्थापन गर्न महानगरपालिका तयार रहेको पनि शाक्यले बताउनुभयो ।

उहाँले खाना खुवाउनकै लागि विदेशी संस्था र स्वदेशबाट समेत आर्थिक सहयोग उठाउनु पर्ने र चन्दा माग्नु पर्ने आवश्यकता नरहेको भन्दै आवश्यक सहयोग गर्न महानगरपालिका तयार रहेको जानकारी गराउनुभयो ।

अहिले पनि श्रम गरी खानेहरुका लागि कुनै समस्या नभएको भन्दै शाक्यले श्रम गरी खानेहरुलाई प्रोत्साहन गर्न सबैसँग आग्रह गर्नुभयो ।

‘काम नगरी खाने प्रवृत्तिको अन्त्य र श्रम गरी खानेलाई प्रोत्साहन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । कोभिडका कारण रोजगारी गुमाएकालाई श्रममा आधारित रोजगारीका अवसर दिन महानगरपालिका तयार छ,’ उहाँले भन्नुभयो ।

खुलामञ्चमा आर्थिक सहयोग गर्न पुगेका सांसदहरुप्रति संकेत गर्दै शाक्यले भन्नुभयो– ‘गरिखान सक्नेलाई पनि खुलामञ्चमा पुगेर केही आर्थिक सहयोग गरी महानगरपालिकालाई असहयोग गर्ने गरी गरेको प्रचारले समस्या समाधान हुदैन । सबै मिलौँ समस्या समाधानको उपायको खोजी गरौँ ।’

संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको समन्वयमा पाँच हजार बेडको आइसोलेन निर्माण गर्ने भनेको स्मरण गराउँदै महानगरपालिकाले नै निर्माण गर्ने भनी समाचार आएको र त्यसमा केही भ्रम पर्न गएको बताउनुभयो ।

उहाँले पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको अवस्थामा स्थानीय, प्रदेश र केन्द्र सरकारको समन्वयमा व्यवस्थापन गर्नुको अर्को विकल्प नरहेको प्रष्ट पार्नुभयो ।

उहाँले काठमाडौँ महानगरपालिकासँग आर्थिक अभाव नरहेको भन्दै तीनै तहको सरकारबीच समन्वय भयो भने जटिल समस्यालाई पनि समाधान गर्न तयार रहेको जानकारी पनि दिनुभयो ।

समितिका सभापति विमल प्रसाद श्रीवास्तवले अहिलेसम्म स्थानीय तहले गरेका काम सकारात्मक भए पनि थप समन्वय गरेर अघि बढ्दा अझ राम्रो हुने बताउनुभयो । सांसद भिमसेन दास प्रधानले समन्वयको अभावमा समस्या हुने गरेको भन्दै समन्वय गरेर अघि बढ्न आग्रह गर्नुभयो ।

Categorized in स्थानीय