मेयर शाक्यकी छोरीले दिइन ‘प्जाज्मा दान’
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ कार्तिक १५, शनिबार

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमणका कारण गम्भीर बिरामीको प्लाज्मा थेरापीमार्फत जीवन बचाउन सहयोगका लागि ‘प्लाज्मा दान’ गर्न अपिल गर्नुभएको छ ।
केही समय अघि कोरोनामुक्त भई स्वस्थ जीवनमा फर्किनु भएका प्रमुख शाक्यले कोरोनाका गम्भीर बिरामीको ज्यान बचाउन आफु प्लाज्मा दान दिन तयार रहेको बताउनुभयो ।
आफ्नी छोरी पलिस्था शाक्यले प्लाज्मा दान गरिसकेपछि मेयर शाक्यले अरुलाई पनि यस्तो पुण्य काममा सहयोग गर्न अपिल गर्नुभयो ।
मेयर शाक्यकी छोरी पलिस्थाले हिजो मात्रै कान्तिपुर अस्पताल तीनकुनेमा पुगेर ‘प्लाज्मा दान’ गरेकी थिइन् । पलिस्थाले दान गरेको प्लाज्माबाट कोभिड र निमोनियाका कारण ओम नर्सिङ होममा उपचाररत काठमाडौँ महानगरपालिका–४ की ७६ वर्षिया महिलाको उपचार भैरहेको छ ।
संक्रमणमुक्त भइसकेकाहरुलाई ‘प्लाज्मा दान’ गर्न प्रोत्साहन होस भन्ने उद्देश्यले परिवारबाटै प्जाज्मा दिन सुरुवात गरेको शाक्यले जानकारी दिनुभयो ।
‘कोरोना संक्रमित भनेर कसैले कसैलाई दुव्र्यवहार नगर्न पनि विनयपुर्वक आग्रह गर्दछु,’ शाक्यले भन्नुभयो । ‘संक्रमितलाई सबैको प्रोत्साहन प्राप्त भयो भने सबै भन्दा ठूलो औषधी त्यही हुन्छ ।’
अहिले काठमाडौँ महानगरपालिकाका विभिन्न वडामार्फत संक्रमितलाई प्रोत्साहन दिन फलफुल, मास्क, आर्योवेदिक औषधीलगायतका सामाग्री लिएर जनप्रतिनिधि होम आइसोलेसन र आइसोलेसन सेन्टर पुग्ने गरेको पनि शाक्यले जानकारी दिनुभयो ।
Categorized in स्थानीय