ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रको लागि ६ करोड दिने मेयर शाक्यको प्रस्ताव
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ चैत्र १८, बुधबार

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सिसडोलमा ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्र पूर्वाधार विकासका लागि ६ करोड रुपैयाँ दिने प्रस्ताव गरेका छन् ।
आज काठमाडौंको राष्ट्रिय सभागृहमा सिसडोल ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधि बिचको छलफलको क्रममा महानगर प्रमुख शाक्यले विभिन्न पूर्वाधार विकासको साथमा स्थानीय वासिन्दाको शिक्षा र स्वास्थ्य क्षेत्रका लागि केही प्रस्ताव अघि सारेका हुन् ।
फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बसिन्दाहरुले विभिन्न माग राख्दै चैत १३ गतेदेखि फोहोर बिसर्जनमा अवरोध गर्दै आएका थिए । फोहोर विसर्जनमा अवरोध भएपछि आज उनीहरुको मागलाई लिएर करीब पाँच घण्टा छलफल भएको थियो । ।
आजको छलफल निकै सकारात्मक भएको र निर्णयमा पुग्ने गरी भोलि एक बजे पुनः छलफलमा बसिने काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ ।
छलफलका क्रममा प्रमुख शाक्यले प्रभावित जिल्ला नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेसी गाउँपालिकाको पुर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा रु तीन–तीन करोड व्यवस्था गर्ने प्रस्ताव राखेका थिए ।
त्यस्तै प्रभावित क्षेत्रमा १५ बेडको अस्पताल सञ्चालनका लागि पुर्वाधार निर्माण, १५ वटा बेड र चार जना डाक्टरका लागि आवश्यक रकम सहयोग गर्ने प्रस्ताव पनि शाक्यले राख्नुभयो ।
त्यसैगरी प्रमुख शाक्यले यस अघि नै प्रभावित क्षेत्रकै लागि एउटा एम्बुलेन्स खरिद गरिदिएको र बाँकी थप एउटा एम्बुलेन्स पुनः खरिद गरिदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । यस अघि एउटा एम्बुलेन्स ललितपुर महानगरपालिकाले खरिद गरिदिने प्रतिवद्धता व्यक्त गरे पनि अहिलेसम्म नगरेको भन्दै प्रभावित क्षेत्रका स्थानीयले असन्तुष्टि व्यक्त गरेपछि उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
‘उहाँहरुले प्रभावित क्षेत्रका विद्यालयहरुमा आवश्यक तहगत र विषयगत ५१ जना शिक्षकको लागि दरबन्दी माग गर्नुभएको छ,’ शाक्यले भन्नुभयो, ‘नेपाल सरकारबाट स्थायी दरवन्दीपछि स्वतः हट्ने गरी तत्कालका लागि उहाँहरुले नै व्यवस्था गर्ने गरी अस्थायी दरवन्दीका ५१ जना शिक्षकको खर्चका लागि महानगरपालिकाले अनुदान दिने प्रतिवद्धता व्यक्त गरेका छौँ ।’
छलफलमा नुवाकोट जिल्लाका प्रदेश सांसद बन्द्री मैनाली ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सिता लामा, प्रभावित क्षेत्रको वडाका वडाध्यक्ष, धुनिवेसी नगरपालिकाका प्रभावित क्षेत्रका वडाध्यक्ष, विभिन्न सरकोकार समितिका प्रतिनिधिको सहभागीता थियो ।
छलफलमा सहभागी जनप्रतिनिधि र स्थानीय वासिन्दाले फोहोर विसर्जनमा अवरोध गर्नु आफूहरुको रहर नभई बाध्यता भएको बताएका थिए ।
ककनी गाउँपालिकाकी उपाध्यक्ष सिता लामाले पनि फोहोर व्यवस्थापनको विकल्प खोज्नुपर्नेमा जोड दिनुभएको थियो । उनीहरुले विगतमा पनि पटक–पटक सम्झौता कार्यान्वयनमा ढिलासुस्ती हुने गरेको भन्दै नुवाकोटका सबै दलका शिर्ष नेतासहितको उपस्थितिमा भोलि १ बजे छलफल गरी निष्कर्षमा पुग्ने बताएका छन् ।
भोलिको बैठकमा पुर्वमन्त्रीहरु डाक्टर रामशरण महत, डाक्टर प्रकाशचन्द्र लोहनीलगायतका नेतालाई पनि सहभागी गराउने र अन्तिम निष्कर्षमा पुग्ने सहमतिसहित बैठक समापन भएको काठमाडौँ महानगरपालिका वातावरण विभागका प्रमुख हरि श्रेष्ठले जानकारी दिनुभयो ।
Categorized in स्थानीय