arin enterprises

प्रशिक्षणमा फर्किए एमबाप्पे

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण २९, सोमबार

केलियन एमबाप्पे प्रशिक्षणमा फर्किएका छन् । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड २४ वर्षीय एमबाप्पे क्लबको पहिलो टिमसँग अभ्यासमा फर्किएका हुन् ।

प्रशिक्षणमा फर्किएसँगै उनी यस समरमा क्लबमै रहने सम्भावना बढेको छ । यसअघि पहिलो टिमसँग प्रशिक्षणमा थिएनन् ।

उनलाई क्लबले समेत टिम बाहिर राखेको थियो । एमबाप्पेको पीएसजीसँग एक वर्षको सम्झौता बाँकी छ । उनी त्यसपछि रियल म्याड्रिड जान चाहन्छन् ।

सोही कारण उनले क्लबसँग सम्झौता नविकरण गर्न मानेका छैनन् । पीएसजीले एमबाप्पेसँग धेरैनै सकारात्मक छलफल भएको उल्लेख गर्दै प्रशिक्षणमा फर्किएको बताएको छ ।

गत महिना साउदी क्लब अल हिलालले एमबाप्पेलाई कीर्तिमानी रकम सहित अनुबन्धनको प्रस्ताव गरेको थियो ।

पीएसजीले समेत एमबाप्पेसँग छलफल गर्न अल हिलाललाई अनुमती दिएको थियो । तर फ्रान्सेली खेलाडीले साउदी प्रतिनिधिसँग छलफल गर्ननै मानेनन् ।

पीएसजीका अध्यक्ष नासिर अल खालिफा एमबाप्पेलाई निशुल्क बजारमा छोड्न नसक्ने बताउँदै आएका छन् ।

तर एमबाप्पे र पीएसजीबीच नयाँ सम्झौता बनिरहेको छैन ।

Categorized in स्पाेर्ट्स