arin enterprises

उद्घोषण तथा वक्तृत्व विकास तालिमबाट महिलाहरु लाभान्वित

SamacharDesk – बिराज | २०७७ चैत्र १०, मंगलबार

ललितपुर महानगरपालिका वडा नं. ५ का महिलाहरु उद्घोषण कला सिक्दै समाजमा अघि बढ्नका लागि अग्रसर भएका छन् । पिनाकल ट्रेनिङ एकेडेमीले आयोजना गरेको १० दिने उद्घोषण तालिममा सहभागी हुन पाउँदा महिलाहरु निकै उत्साहित देखिन्थे ।

वडा ५ का महिला समूहका पदाधिकारी एवं सदस्यहरुलाई मन्तब्य राख्न तथा कार्यक्रम निर्माण र संचालन गर्न सहज होस् भन्ने उद्देश्यले आयोजना गरिएको तालिमबाट आफुहरु लाभान्वित भएको महिलाहरुले बताए । संचारकर्मी सुरजवीर बज्राचार्यले प्रशिक्षण दिएको तालिममा २५ जना महिला प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. ५ का अध्यक्ष विकासमान श्रेष्ठले आफू प्रशिक्षार्थीहरुको मन्तब्य तथा कार्यक्रम संचालक शैलीबाट प्रभावित भएको बताउँदै एडभान्स कोर्ष चाँडै आयोजना गर्ने बताउनुभयो । प्रमाण पत्र वितरण गर्दै उनले १० दिने उद्घोषण तालिम पश्चात हुने एडभान्स कोर्षका लागि सहभागी सबैले अझ मेहेनत गर्नुपर्ने विचार राखे ।

तालिम संयोजक तथा वडा ५ का महिला सदस्य शोभा श्रेष्ठले तालिमले सबैमा उल्लेखनीय गुण विकास भएको दावी गरे । दक्षता अभिबृद्धि गर्न थप विषयवस्तुका साथ तालिमको अवधि बढाउनुपर्नेतर्फ वडा सदस्य श्रेष्ठले ध्यानाकर्षण गराउनु भएको थियो । कार्यक्रममा वडा सदस्य अशोककुमार श्रेष्ठ तथा मञ्जु रिजालले पनि आफ्नो विचार राखेका थिए ।

प्रशिक्षक बज्राचार्यले मेहेनत सँधै निरन्तर हुनुपर्ने तथा प्रत्येक गल्तीबाट ज्ञान हासिल गर्दै अघि बढ्नुपर्ने सुझाव दिनुभयो । आयोजक संस्था एकेडेमीका अध्यक्ष शरदराज न्यौपानेले समाजको विकासको लागि महिलाहरुको ठुलो भूमिका रहने भन्दै महिलाहरुको व्यक्तित्व विकासका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Categorized in समाज