arin enterprises

धर्मस्थलीका महिला तथा युवाहरुलाई क्षमता अभिवृद्धि तालिम

SamacharDesk | २०८० मङ्सिर ८, शुक्रबार

काठमाडौंको तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा क्षमता अभिवृद्धि तालिम सञ्चालन भइरहेको छ ।

स्थानिय महिला तथा युवाहरुको क्षमता विकास गराएर दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम कार्यक्रमको आयोजना गरिएको धमाथू नेवाः ग्वहालि पुचःले दाबी गरेको छ । सञ्चारकर्मी केके मानन्धरको उद्घोषण तालिममा सहजिकरण गरिरहेका छन् ।

तालिम कार्यक्रमलाई उद्घाटन गर्ने क्रममा समाजसेवी श्रीकृष्ण मानन्धरले स्थानिय महिला तथा युवाहरुको सीप, क्षमता र दक्षता अभिवृद्धि गराउनुपर्नेमा जोड दिए ।

‘लक्षित वर्ग पहिचान गरी सञ्चालन भइरहेको तालिमले ठोस उपलब्धि हुने विश्वास लिएको छु । संस्था सञ्चालनको विधि तथा सिलसिला मिलाएर बोल्ने शैली सिकेर युवाहरु स्थानिय भाषा, कला र संस्कृति संरक्षण तथा प्रवर्द्धनमा सांगठनिक रूपमा लाग्ने विश्वास लिएको छु ।’ मानन्धरको भनाइ थियो ।

मूर्त र अमूर्त सम्पदालाई परिस्कृत गरी पर्यटनसँग जोडेर स्थानियबासीको आयआर्जनको माध्यम बनाउनको लागि तालिम कार्यक्रमले टेवा दिने उहाँको भनाइ थियो ।

त्यस्तै, तालिम कार्यक्रमका संयोजक रविकुमार डंगोलले अन्तर्निहीत क्षमताको विकासले व्यक्तिको वास्तविक पहिचान स्थापित गराउने बताए ।

मौलिक हकअधिकारको विषय, प्रशासनीक व्यवहार र प्रस्तुति शैलीको लागि पनि सिलसिला मिलाएर बोल्ने क्षमता आवश्यक रहेको उहाँको भनाइ थियो ।

धमाथू नेवाः ग्वहालि पुचः सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न गतिविधि सञ्चालन गर्न स्थापना गरिएको समूह हो ।

काठमाडौं महानगरपालिकाका विभिन्न टोल, कीर्तिपुर, भक्तपुरको मध्यपुर थिमि, ललितपुर महानगरपालिकामा पनि ग्वहालि पुचःका शाखाहरू छन् ।

समुदायभित्र कोहीकसैलाई समस्या पर्दा सामुहिक रूपमा सहयोग गर्ने, स्थानिय भाषा, लिपि, कला र संस्कृति संरक्षण तथा प्रवर्द्धनको क्षेत्रमा समूहले काम गर्दै आएको छ ।

बालाजुदेखि ४ किलोमिटरको दूरीमा अवस्थित ग्रामसेवा माध्यमिक विद्यालयको सभाहलमा मंसीर ५ देखि मंसीर ११ गतेसम्म संचालन हुनेछ  ।

प्रत्येक दिन दुई घण्टा भइरहेको तालिम कार्यक्रममा १५ जना प्रशिक्षार्थी सहभागी छन् ।

Categorized in समाज