arin enterprises

संस्कृति धान्दै संचारकर्मी साथै गृहिणीहरु

SamacharDesk – बिराज | २०८० भाद्र १७, आइतबार

प्रेरणा शाक्य । निकै सक्रिय महिला पत्रकार । विशेष गरी काठमाडौं उपत्यकाका जात्रापर्व, स्थानीय गतिविधिको रिपोर्टिङ गर्न उनी जहाँ पनि जतिखेर पनि क्यामेरा बोकेर पुगिहाल्छिन् ।

कुनै बेला उनी बिना क्यामेरा कतै देखिइन् भने मान्छेहरुले सोधि हाल्छन्, ‘क्यामेरा खइ नि ?’

तर गएको श्रावण एक महिना भरी उनको हातमा क्यामेरा थिएन । उनको दिनचर्या फेरिएको थियो । हरेक साँझ उनी काठमाडौंको इतुम्बहाल, पारावर्त महाविहार पुग्थिन र उनको हातमा क्यामेराको साटो बाँसुरी हुने गर्दथ्यो ।

त्यस्तै इतुम्बहालकै जेनि शाक्यको पनि श्रावण महिनाभरीको दिनचर्या बेग्लै थियो । प्राय घरमै परिवारलाई खाना, खाजा ख्वाउने, भान्छामै बित्ने गर्दथ्यो उनको दिन । भान्छा र परिवारको हेरविचारबाट केही छिन् फुर्सद पाए यसो एकछिन मोबाइल हेरियो, यसो अलि कति बहाल, चोकमा हिँडियो ।

त्यत्ति समय पाउन पनि गार्हो हुने गर्दथ्यो जेनिलाई । तर श्रावण महिनाभरी साँझमा उनले पनि डाडु पन्यूको ठाउँमा बाँसुरी समाइन् ।

जेनिको यो भोगाई प्राय गृहिणीहरुकै भोगाई हो । भान्छाबाट फुर्सद पाउनै गार्हो । झन चाडबाड, जात्रापर्व आउनुपर्छ । त्यसबेला त गृहिणीहरुको बेफुर्सदीको कुरै नगरौं । पानीसम्म पिउन भ्याइन्न ।

फेरी नेवार घर परिवारमा त प्रायः महिना पिच्छे जस्तो चाडपर्व वा जात्रा आइ नै रहन्छ । अनि भोज, नखत्या आदि भइ नै रहन्छ ।

इतुम्बहालकै गीता शाक्यले पनि यस्तै दिनचर्या भोग्दै आएकि थिइन् ।

हरेकको आफ्नो सौंख, इच्छा त भइ नै रहन्छ । तर महिला मात्र होइन, कतिपय अवस्थाका पुरुषले पनि आफ्नो इच्छालाई मारेर आफ्नो जिम्मेवारी बहन गर्दै बस्नुपर्ने भइरहन्छ । यस्तै अवस्थाका बीच श्रावण महिनाभरी गीताले पनि साँझभरी बाँसुरी बजाइन् ।

यी सबै सन्दर्भ जोडिएको छ काठमाडौंको ऐतिहासिक पारावर्त महाबिहारको केशचन्द्र गुंला बाजं  खलःको एक महिने बाँसुरी वादन प्रशिक्षणको ।

नेपाल सम्वत अनुसारको दशौं महिना गुंलालाई बौद्ध धर्मावलम्बी नेवारहरु एउटा पर्वको रुपमै मनाउने गरेका छन् । यो महिनाभरी बौद्ध धर्मावलम्बी नेवारहरु एका विहानै धाः, बय् आदि खालका बाजा बजाउँदै चैत्य सेवामा जाने गर्दछन् ।

खलःले गुंला पर्वलाई लक्षित गर्दै श्रावण महिनाभरी बाँसुरी बादन प्रशिक्षणको आयोजना गरेको थियो ।

नेपाल सम्वत अनुसारको दशौं महिना गुंलालाई बौद्ध धर्मावलम्बी नेवारहरु एउटा पर्वको रुपमै मनाउने गरेका छन् । यो महिनाभरी बौद्ध धर्मावलम्बी नेवारहरु एका विहानै धाः, बय् आदि खालका बाजा बजाउँदै चैत्य सेवामा जाने गर्दछन् ।

अहिले यहि गुंला महिना जारी छ । अहिले विहानैदेखि धाःको तालमा बाँसुरीको धुन सुनिन्छ । समुदाय विशेषको आधारमा कसैले धिमेय् बजाउँछन् । ट्रम्पेटको आवाज पनि सुनिन्छ । यसरी आआफ्नो परम्परा अनुसार विभिन्न बाजाहरु बजाउँदै टोल टोल वा खलः पुचःको समूह चैत्य सेवामा जाने गरेका छन् ।

काठमाडौंमा विशेष गरी स्वयम्भू जाने गरिन्छ । त्यस्तै कीर्तिपुरमा चिलंचो जाने गरिन्छ । ललितपुरमा भने बग्गी जाने चलन छ भने गाईजात्राको दिनमा चार थुर लिने भनी लगनखेल, इमाडोल, शंखमूल र पूल्चोकमा चैत्य सेवा गइन्छ ।

काठमाडौंमा पनि विभिन्न बहाल वा विहारका प्रतिनिधिहरु समूह समूहमा भेला यसरी नै चैत्य सेवामा जाने गर्छन् ।

इतुम्बहालको केन्द्रकृत पारावर्त महाविहारका प्रतिनिधिहरु जाँदा बाजागाजाको व्यवस्था केशचन्द्र गुंला बाजं खलःले गर्ने गरेको छ । त्यसैको तयारी स्वरुप यस केशचन्द्र गुंला बाजं खलःले हरेक वर्ष नयाँलाई धाः, बाँसुरी वादनको प्रशिक्षण र पुरानालाई अभ्यास गराउने गरेको छ ।

खलःले यसरी नयाँलाई प्रशिक्षण र पुरानालाई अभ्यास गराउने कामलाई निरन्तर रुपमा गर्दै आएको करीब १० वर्ष भएको छ । यस अघि ब्यान्ड बाजा समूहलाई बोलाई ट्रम्पेट बजाउने दिने गरिन्थ्यो । अरुको भरमा बस्नुपर्दा विभिन्न झन्झट आइरहने त छँदैछ, साथमा आर्थिक रुपले पनि निकै ठुलो रकम वर्षैपिच्छे खर्च भइरहने गर्दथ्यो ।

बरु ठुलठुलो रकम यसरी खर्च गरिरहनु भन्दा आफ्नै समाजमा नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्नमा लगानी गरिए संस्कृति पुस्तान्तरण पनि हुँदै संरक्षण पनि भइरहने अवधारणासहित प्रशिक्षण थालियो । अहिले भने आफ्नै परम्परा अनुसारको मौलिक बाजा बजाउनु पर्छ भन्दै नयाँ पुस्तालाई प्रशिक्षण र अभ्यास गराउन थालिएको हो ।

‘अरुको भरमा बस्नुपर्दा समयमा नआइदिने, आएपछि जानै हतार हुने लगायत विभिन्न समस्याहरु थियो नै, हरेक वर्ष ठुलै रकम ट्रम्पेट समूहलाई दिनुपथ्र्यो । हरेक वर्ष प्रशिक्षणलाई निरन्तरता दिएपछि हामी आफैं बलियो हुँदै गएका छौं’ खलःका गुरु दिपकमान शाक्यले भने ।

यस पालि प्रशिक्षण लिएर एक वर्षसम्म अभ्यास गरेमा अर्को वर्षको गुंला पर्वमा बजाउन सक्ने भइन्छ । अर्को वर्षको गुंला पर्वमा स्वयम्भुमा यस पालि प्रशिक्षण लिने प्रेरणा, जेनि र गीतालाई बाँसुरी बजाउँदै गरेको देखिने आशा गरौं

वर्षैपिच्छे प्रशिक्षण दिइरहँदा अपेक्षित रुपमा प्रशिक्षार्थीहरुको सहभागीता नदेखिएको अनुभव भने गुरु शाक्यको रहेको छ । निःशुल्क प्रशिक्षण दिइरहँदा प्रशिक्षण लिनेको संख्या उल्लेख्य हुनुपर्ने अपेक्षा शाक्यको रहेको छ ।

‘हुन त वर्षैपिच्छे १०–१५ जना नयाँ प्रशिक्षार्थीहरु आउने गर्दछ तर, मलाई यो संख्या अलि बढि हुनुपर्ने हो । निःशुल्क प्रशिक्षण दिइरहँदा प्रशिक्षण लिन आउनेको संख्या उल्लेख्य हुनुपर्ने जस्तो मलाई लाग्छ’ शाक्यले आफ्नो अपेक्षा सुनाए ।

यस वर्ष पनि ८ जना नयाँ प्रशिक्षार्थीहरुले बाँसुरी वादन तालिम लिए । ती ८ जनामा गृहिणीहरु पनि छन् भने युवाहरु पनि रहेका छन् । यीनै ८ मध्ये संचारकर्मी प्रेरणा, जेनि र गीता पनि हुन् ।

गुरु शाक्यका अनुसार यस वर्ष प्रशिक्षण लिने प्रशिक्षार्थीहरुले यसै वर्षको गुंला पर्वमा बजाउन गार्हो पर्ला । अझ धाः भन्दा बाँसुरी बजाउनमा झन गार्हो छ ।

यस पालि प्रशिक्षण लिएर एक वर्षसम्म अभ्यास गरेमा अर्को वर्षको गुंला पर्वमा बजाउन सक्ने भइन्छ । अर्को वर्षको गुंला पर्वमा स्वयम्भुमा यस पालि प्रशिक्षण लिने प्रेरणा, जेनि र गीतालाई बाँसुरी बजाउँदै गरेको देखिने आशा गरौं । 

Categorized in संस्कृति