arin enterprises

कामपामा हरेक दिन प्रमुख प्रशासकीय अधिकृत र विभागीय प्रमुखहरुबिच बैठक हुने

SamacharDesk – बिराज | २०८० चैत्र ७, बुधबार

काठमाडौँ महानगरपालिकामा हरेक दिन प्रमुख प्रशासकीय अधिकृतको विभागीय प्रमुखहरुसँग प्रगति वैठक बसिने भएको छ ।

कामपाका प्रमुख प्रशासकिय अधिकृत प्रदीय परियारले हरेक दिन बिहान ०९ः४५ बजे विभागीय प्रमुखहरुसँग प्रगति बैठक राख्ने तालिका बनाएका हुन् ।

विभाग स्तरमा अघिल्लो दिनको अद्यावधिक, आजको तयारी, यसका लागि आन्तरिक समन्वय र प्रगतिका बारेमा थाहा पाउन यस प्रकारको तालिका बनाइएको प्रमुख प्रशासकिय अधिकृत परियारले जानकारी दिए ।

‘बैठक भएकै कारण काममा वा सेवा प्रवाहमा बाधा हुनेछैन । बैठकलाई औपचारिकतामा भन्दा विषयमा केन्द्रीत गरिनेछ’ परियारले भने ।

परियारकै कार्यकक्षमा आज बसेको आर्थिक बर्ष २०७९/०८० को महालेखापरीक्षकको अन्तिम लेखापरीक्षण, प्रारम्भिक प्रतिवेदनले औल्याएको अवस्थाका बारेमा विभागीय प्रमुखहरुसँग छलफल गर्दै योजना सुनाएका हुन् ।

प्रतिवेदनले औल्याएका ‘सैद्धान्तिक’ र ‘लगती’ वेरुजुसँग सम्बन्धित विभाग, आयोजना, एकाइ, सचिवालय र कार्यक्रमका प्रमुखहरुले प्रारम्भिक बेरुजुलाई रुजु गराउन गर्नु पर्ने काम र निर्वाह गर्नु पर्ने भूमिका छलफलको मुख्य विषय थियो ।

बैठकमा वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीले प्रारम्भिक प्रतिवेदनका विषयमा प्रस्तुतिकरण दिएका थिए ।

त्यस्तै आन्तरिक लेखा परीक्षण एकाइका प्रमुख यादव घिमिरे, विषयसँग सम्बन्धित यस अघि गरिएका कामका विषयमा जानकारी गराएका थिए ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत परियारले आजसम्ममा वडाहरुले प्राप्त गरेको वित्तीय प्रगति प्रस्तुत गरेका थिए । परियारका अनुसार उच्चतम प्रगति गर्ने वडाको वित्तीय प्रगति ४७.५ प्रतिशत र सबैभन्दा कम प्रगति गर्नेले ९.८ प्रतिशत प्रगति गरेका छन् । 

Categorized in स्थानीय