मेलम्चीको पानी काठमाडौंवासीलाई पुनः उपलब्ध
SamacharDesk | २०८० माघ १, सोमबार

सरकारले मेलम्चीको खानेपानी काठमाडौंवासीलाई पुनः उपलब्ध गराउन शुरु गरेको छ ।
आज सोमवार प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिसरमा खानेपानीको धारा खोलेर उद्घाटन गर्नुभयो ।
उपभोक्ताको घरमा पानी पहिला नै पथान्तरण गरिसकिएको छ । कार्यक्रमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले उपत्यकावासीलाई मेलम्चीको खानेपानी वर्षभर नै उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।
उहाँले मेलम्ची आयोजनाअन्तर्गत हाल प्रयोग हुँदै आएको वैकल्पिक प्रणालीलाई पनि १२ महिना नै सञ्चालन गर्नेगरी व्यवस्था मिलाउन सम्बन्धित निर्देशन दिनुभयो ।
उहाँले काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रतिवद्ध रहेको जिकिर पनि गर्नुभयो ।
उहाँले मेलम्चीको पानी पथान्तरण कार्यलाई दिगो बनाउने कार्य छिटै सम्पन्न गरी दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्य समेत निश्चित कार्ययोजना बनाइ अघि बढाइने प्रतिवद्धता जनाउनु भयो ।
प्रधानमन्त्री दाहालले सुन्दरीजलमा थप क्षमताको पानी प्रशोधन केन्द्र तथा काठमाडौं उपत्यकामा नयाँ वितरण प्रणाली र फोहोर पानी प्रशोधन प्रणाली समेत विकास गरिने बताउनु भयो ।
उहाँँले केही वर्ष भित्रमा अर्को चरणमा काठमाडौं उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिणामको खानेपानी सेवा चौबिसै घण्टा उपभोक्ता सदस्यहरुको धारामा उपलब्ध गराउने व्यवस्था मिलाउनका लागि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
Categorized in राष्ट्रिय