पाँचौ विश्वकप खेल्दै मेस्सी , पूरा होला त विश्वकप जित्ने सपना ??
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ मङ्सिर ६, मंगलबार

चर्चित अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सी यसपाली कतारमा पाँचौ विश्वकप खेल्दैछन् । कतारमा जारी विश्वकपमा आज मेस्सी साउदी अरेबियाविरुद्धको खेलमा मैदानमा उत्रिएका छन् ।
आफ्नो पाँचौ विश्वकपको क्रममा मेस्सीको आज पहिलो खेल हो भने आजकै खेलमा उनले गोलको खाता पनि खोलीसकेका छन् । ३५ बर्षीय मेस्सीका लागि कतारमा जारी फिफा विश्वकप अन्तिम अवसर हुनसक्छ ।
विश्वकपको ईतिहासमा अर्जेन्टिनाको कुरा गर्नुपर्दा यसले पछिल्लो पटक सन् १९८६ मा विश्वकपको ट्रफी उचालेको थियो । त्यतिबेला डिएगो म्याराडोनाको कप्तानीमा अर्जेन्टिना विश्वकप फुटबलको मैदानमा उत्रिएको थियो ।
मेसीले भने सन् २००६ को जर्मनी विश्वकपबाट डेब्यू गरेका थिए । आफ्नो फुटबल जीवनमा उत्कृष्ट फर्वार्डको रुपमा मेस्सीलाई लिने गरिन्छ । विश्वकै उत्कृष्ट फुटबल खेलाडीमध्येमा लिइने मेस्सी क्लबका लागि निकै भाग्यमानी मानिएपनि देशका लागि अभागी खेलाडी नै भन्ने गरिन्छ ।
क्लब फुटबलबाट प्राय सबै उपाधिहरु जितेका मेस्सीले देशको लागि केही उपाधी दिन नसकेको भन्दै आरोप पनि लाग्ने गरिन्छ । १९९० को इटालिया ९० विश्वकपमा फाइनल पुगेको अर्जेन्टिना त्यस पछि भने बल्ल सन् २०१४ मा मात्रै फेरी फाइनलसम्म पुग्न सफल भएको थियो ।
त्यो खेलमा पनि अर्जेन्टिनाको प्रतिद्वन्दी भनेको ९० कै प्रतिद्वन्दी जर्मनी नै थियो । र २०१४ को फाइनल खेलमा पनि ९० कै नतिजा दोहोरिँदै जर्मनीसँग १–० ले पराजित हुँदा उपविजेतामै सीमित हुन पुग्यो ।
त्यसपछि मेसीले तत्काल अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने निर्णय लिएका थिए । संन्यास घोषणापछि उनलाई फुटबलमा फर्काउन समर्थकले अभियान नै थालेका थिए
यस पाली पनि देशलाई विश्वकप जिताउने मेस्सीको सपना फेरी अधुरै रहेको थियो । २०१५ मा भएको कोपा अमेरिका कपमा पनि अर्जेन्टिना फाइनल त पुग्न सफल भयो तर, आयोजक चिलीसँग पेनाल्टी सुटआउटमा पराजित हुन पुग्यो ।
सन् २०१६ मा पनि समूह चरण र बाँकी खेलमा सानदार जित हात पार्दै अर्जेन्टिना फेरि फाइनलमा पुगेतापनि उपाधी जित्न सकेन । मेस्सीकै कप्तानीमा फाइनल पुगेको अर्जेन्टिनी टोलीले फेरी चिलीसँगै हार खानुपर्यो ।
त्यसपछि मेसीले तत्काल अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने निर्णय लिएका थिए । संन्यास घोषणापछि उनलाई फुटबलमा फर्काउन समर्थकले अभियान नै थालेका थिए । त्यो समयमा थालिएको ‘डन्ट गो, लियो’ अभियान क्षणभरमै संसारभर फैलिएको थियो ।
मेसीले १२ अगस्ट २०१६ मा संन्यास फिर्ता लिए । सन् २०१८ को विश्वकपमा पनि अर्जेन्टिनाको राम्रो सुरुवात हुन सकेन ।
पहिलो खेलमा अर्जेन्टिनालाई आइसल्यान्डले १–१ गोलको बराबरीमा रोकेको थियो । सो खेलमा दश जना खेलाडीबाट बल निकाल्दै एक्लै गोल गर्न सक्ने खेलाडी भनिएका मेस्सीले नै पेनाल्टीमा गोल चुकाउँदा अर्जेन्टिनाले जितबाट बिमुख बन्न पुग्यो ।
दोस्रो खेलमा अर्जेन्टिनालाई क्रोएसियाले ३–० ले हरायो । अन्तिम खेलमा नाइजेरियालाई २–१ हराउँदै अर्जेन्टिनाले अन्तिम १६ मा स्थान बनाएको थियो । तर अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदा अर्जेन्टिना विश्वकपबाट बाहिरियो ।
यस्तै सन् २०१९ को कोपा अमेरिकाको सेमिफाइनमा अर्जेन्टिना ब्राजिलसँग २–० ले पराजित हुँदै घर फर्किन बाध्य भयो । यसरी बारम्बार फाइनलमा पुगेर पनि सधै उपाधिविहीन हुने अभागी टोली सावित भइरह्यो र टोलीमा रहेका स्टार खेलाडी मेस्सी अभागी नै ठहरिए ।
अर्जेन्टिना उपाधिविहीन हुँदा समर्थकहरुमा निराशाको बादल छाउन थालेको थियो । तर मुख्य प्रतियोगिताको पाँच वटा फाइनलमा असफल भइसकेको अर्जेन्टिनाका लागि कोपा २०२१ ले भाग्य खोल्यो । जसमा सफल हुँदै अर्जेन्टिनाले आफ्ना समर्थकलाई खुसी दिन सफल भयो ।
गत वर्ष भने अर्जेन्टिनालाई कोपा अमेरीका कप २०२१ को उपाधी जिताउँदै लामो समयदेखि मुख्य उपाधी जित्न नसकेको अर्जेन्टिनाको घाउमा मल्हम लगाए ।
सन् १९८६ मा विश्वकपको ट्रफि उचालेपछि अर्जेन्टिनाले जितेको मुख्य उपाधी भनेकै यहि कोपा अमेरीका कप २०२१ हो । देशको लागि उपाधी जित्ने मेस्सीको एउटा सपना त कोपा अमेरीका कप २०२१ को उपाधीसँगै पूरा भयो ।
३५ वर्ष पुगेका मेस्सीको लागि सम्भवतः अन्तिम विश्वकप यहि कतार विश्वकप हुनसक्छ । अब देशको लागी विश्वकप जित्ने उनको सपना अझै अधुरो छ ।
आफ्नो पाँचौ र सम्भवतः अन्तिम विश्वकपको पहिलो खेलमा मैदानमा उत्रिएको १० मिनेटमै गोल गर्दै मेस्सीको अर्जेन्टिना र अर्जेन्टिनी समर्थकबीच आशाको दियो त बालिसके ।
अब विश्वकप जित्ने मेस्सीको सपना यस पाली पूरा होला त ? यो हेर्न भने समयलाई कुर्नुपर्नेछ ।
Categorized in स्पाेर्ट्स